सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं एक्सप्रेस

डब्लिन– सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताउनुभयो । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख र्गुभयो । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मुल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो ।

सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो । उहाँले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानूनी एवं नीतिगत सुधारहरु समेत भइरहेको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौति सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिनुभयो । उहाँले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरु आकर्षित भएको बताउँदै आवश्यक सहजिकरणका लागि आग्रह गर्नुभयो ।

भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिकरुपमा दुवै मुलुक धनी रहेको उल्लेख गर्नुभयो । उहाँले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालायित रहेको बताउनुभयो ।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राख्नुभयो ।

तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा निस्कनुभएका सभामुख घिमिरे आइतबार बिहान १०:१५ बजे काठमाडौं फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्छ ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरले संसदको माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधि सभाका सभामुखसँग भेट गर्नुभएको थियो । उहाँले सरकार मन्त्री र तथा उच्च अधिकारीसँग भेट गरी दुईपक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गर्नुभएको छ ।

Logo