सर्लाही संकट समाधानका लागि मुस्लिम आयोगका अध्यक्षको सक्रियता

सर्लाही संकट समाधानका लागि मुस्लिम आयोगका अध्यक्षको सक्रियता

काठमाडौं एक्सप्रेस

  • कार्यवाहक प्रधानमन्त्री, एमाले अध्यक्ष र प्रहरी प्रमुखसँग छलफल

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सर्लाहीमा समुदायगत दङ्गा नियन्त्रणका लागि सरकार, प्रमुख विपक्षी दल र सुरक्षा प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

अन्सारीले आइतबार कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ध्यानाकर्षण गराएका छन् ।

गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच झडप तथा विवादले उग्ररुप लिएपछि सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु जारी छ । कर्फ्युले जनजीवनमा गम्भीर प्रभाव पारेको भन्दै आफूले सरकार र प्रमुख विपक्षी दलको ध्यानाकर्षण गराएको अन्सारीले बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले अन्सारीसँग भएको टेलिफोन कुराकानीमा स्थिति शान्त बनाउने विषयमा छलफल गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं सर्लाही जाने तयारी गरेको जानकारी दिए । कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सदभाव कायम गर्न सबै पक्षलाई अपिल गरेको अन्सारीले बताए ।

अन्सारीसँग भएको भेटमा एमाले अध्यक्ष ओलीले पनि आफ्नो दलको तर्फबाट शान्ति कायम गर्न पहल गर्ने जानकारी दिए । ‘सामाजिक सदभाव बिथोल्ने काम कसैले पनि गर्नु हुँदैन,’ ओलीले अध्यक्ष अन्सारीसँग भने, ‘एकपछि अर्को घटना हुनु दुखद छ ।’ भेटमा आयोगका सदस्यद्वय मिर्जा अरशद बेग र मोहम्मद समशुल हक सहभागी थिए ।

प्रहरी महानिरीक्षक कुँवरले पनि सामाजिक सदभाव बिथोल्ने प्रयास सफल नहुने भन्दै जिल्लास्थित सुरक्षा निकायलाई तैनाथ अवस्थामा राखिएको जानकारी दिए ।

अध्यक्ष अन्सारीले स्थिति जटिल हुन नदिन आफूले सबै पक्षसँग छलफल गरी समस्या समाधानका लागि पहल गरेको जानकारी दिए ।

Logo