सुदूरपश्चिम एमालेमा सर्वसम्मत नेतृत्वको सम्भावना प्रबल

सुदूरपश्चिम एमालेमा सर्वसम्मत नेतृत्वको सम्भावना प्रबल

काठमाडौं एक्सप्रेस

काठमाडौं/ नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन असोज २१–२२ मा धनगढीमा ह’दैछ । उक्त अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव–२ गरी ५ पदाधिकारीसहित १ सय ६० सदस्यीय प्रदेश कमिटीको चयन गर्नेछ । करिब ६ सय प्रतिनिधि रहने यस अधिवेशनका लागि असोज १५ गते प्रतिनिधि छनौट हुने कार्यतालिका छ ।

पहिलो ऐतिहासिक अधिवेशन, अध्यक्षको कार्यकारी नेतृत्व र पोलिटब्युरोको पदेन सदस्य समानको वरियता हुने भएकाले नेतृत्वका लागि नेताहरूबीच तीव्र तयारी भइरहेको छ । तर पनि सुदूरपश्चिम एमालेको यस प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार नै एमालेले सुदूरपश्चिममा प्रदेश नेतृत्व सर्वसम्मत गर्ने गरी पहल थालेको हो । तर, छलफल प्रारम्भिक चरणमै रहेकाले सर्वसम्मतिको पहल कसरी अगाडि बढ्छ भन्ने टुङ्गो लागिनसकेको एक नेताले बताए ।

अहिले सुदूरपश्चिम अध्यक्षका लागि बलियो दाबेदारका रूपमा नेकपा एमालेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना देखिएका छन् ।

एमाले अछामको पूर्वअध्यक्षसमेत रहिसकेका तिमिल्सिना पञ्चायत कालदेखि नै राजनीतिमा आबद्ध भई अनेरास्ववियु, प्ररायुसंघ जस्ता जनवर्गीय संगठनमा काम गर्दै पार्टी राजनीतिमा स्थापित पुराना नेता हुन् । अहिलेसम्म लाभको पद नलिएका उनले सर्वसम्मत रूपमै एमाले अछामको नेतृत्व लिएका थिए ।

अहिले सुदूरपश्चिम अध्यक्षका लागि बलियो दाबेदारका रूपमा नेकपा एमालेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना देखिएका छन् ।

सुदूरपश्चिमको एमालेमा संगठक र वैचारिक नेताको छवि बनाएका उनले अहिलेका अध्यक्ष दामोदर भण्डारी प्रतिनिधिसभाको सांसद भएका कारण अध्यक्ष बन्न नपाउने पार्टी मापदण्ड लागू भएपछि अध्यक्षको स्वाभाविक दाबेदारका रूपमा आफूलाई उभ्याएका छन् । उपाध्यक्षको हैसियतले समेत पार्टीको विधि–पद्धतिअनुरूप नै अध्यक्षका रूपमा एक कार्यकाल नेतृत्व गरेर अघि बढ्नुपर्ने सुझावसमेत नेता–कार्यकर्तापंक्तिको रहेको छ ।

अछामकै अर्का पुराना नेता एवं प्रदेश कमिटीको सचिवालय सदस्य कृष्णप्रसाद जैसीले पनि प्रदेश अध्यक्षका लागि लबिइङ गरिरहेका छन् । पूर्वजिविस सभापतिसमेत रहेका उनी गत आम निर्वाचनमा अछाम–१ को प्रदेशसभा (२) बाट उम्मेदवार बनेका थिए । उनलाई एमाले सुदूरपश्चिमका नेता एवं स्थायी समिति सदस्य कर्ण थापाको साथ रहेको बताइन्छ ।

नेता थापाले पनि सर्वसम्मतबाट सुदूरपश्चिममा नेतृत्व चयन गरिने धारणा व्यक्त गरिसकेकाले पनि सुदूरपश्चिममा सर्वसम्मत रूपमा अध्यक्ष छानिने सम्भावना बढेको हो । आकाङ्क्षीहरूको व्यवस्थापन गर्न जटिल भएकाले आन्तरिक लोकतन्त्रको अभ्यासस्वरूप निर्वाचनका माध्यमबाट समेत नेतृत्वको छिनोफानो हुन सक्ने पनि पार्टी सम्बद्ध जानकारहरूको भनाइ छ । तर मूल नेतृत्वमा सकभर सहमति कायम गर्ने अधिकतम प्रयत्न हुने बताइन्छ ।

यस्तै, बाजुरा निवासी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका पूर्वसदस्य लालबहादुर थापालाई प्रदेश अध्यक्षका रूपमा अगाडि सार्न खोजिए पनि उनले व्यक्तिगत रूपमा रुचि नदेखाएको उनी निकट नेता बताउँछन् । आफू पार्टीको जिम्मेवारीमा रहेकाले अन्य साथीहरूलाई अवसर दिनुपर्ने धारणा उनले केन्द्रीय नेतृत्वसँग राखेको बुझिएको छ । हाल अछाम जिल्ला इञ्चार्ज, संगठन विभागको सदस्यका रूपमा समेत उनी जिम्मेवारीमा रहेका छन् ।

यस्तै, कञ्चनपुरका बचनबहादुर सिंहले पनि अध्यक्षका लागि रुचि देखाएका छन् । उनी युवापुस्ताको आफूले प्रतिनिधित्व गर्ने भएकाले अध्यक्ष पाउनुपर्ने भन्दै लबिइङमा छन् । सचिवका लागि भने कैलालीका नेता रणबहादुर चन्द बलिया दाबेदारका रूपमा देखिएका छन् ।

Logo