इजरायलमा रहेका नेपालीको जीवन रक्षा गर : परिवार दल

इजरायलमा रहेका नेपालीको जीवन रक्षा गर : परिवार दल

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेपाल परिवार दलले इजरायलमा रहेका नेपालीहरुको जीवन रक्षा गर्न अपिल गरेको छ ।

परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकालले सोमबार विज्ञप्ती जारी गर्दै इजरायलमा रहेका ४ हजार ५ सयभन्दा बढी नेपालीको जीवन रक्षा गर्न अपिल गर्नुभएको छ । “उच्चस्तरमा तुरुन्त संवाद गरि नेपालीहरुलाई सुरक्षित आफ्नो देश फर्कने वातावरण सृजना गर्न पनि हामी नेपाल सरकारलाई आग्रह गर्दछौं,” ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “इजरायलमा रहनुभएका नेपालीहरुले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले उपलब्ध गराएको सम्पर्कमा जोडिन तथा इजरायली सरकारले जारि गरेको सुरक्षा निर्देशनको पालन गर्न पनि अनुरोध गर्दछौं।”

अध्यक्ष ढकालले इजरायल घटनामा ज्यान गुमाएका नेपालीहरुको शव स्वदेश ल्याउन तथा घाइतेको उद्दार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

परिवार दलले युद्धले कसैको भलो नगर्ने बताउँदै विवाद समाधानको उत्कृष्ट पद्धति शान्तिपूर्ण वार्ता र संवादमा जोड दिएको छ ।

Logo