सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै केन्द्रीय रिफरल पशु चिकित्सालय

सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै केन्द्रीय रिफरल पशु चिकित्सालय

काठमाडौं एक्सप्रेस

राजधानीको त्रिपुरेश्वरमा अवस्थित केन्द्रीय रिफरल पशु चिकित्सालयले कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । अभियान अन्तर्गत यस वर्षको चिकित्सालयले आफ्नो वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिन्धुलीको हरीहरपूरगढी गाउँपालिकामा पुगेर सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकामा सामुदायिक कुकुरको संख्या बढ्दै गएपछि किसानका गाईभैंसी तथा बाख्रामा रेबिजको प्रकोप देखापरेपछि चिकित्सालयको सहयोगमा बन्ध्याकरण र रेविज विरुद्धको खोप शिविर सम्पन्न भएको पशु सेवा शाखा हरिहरपुरगढीका प्रमुख निकास भोलनले बताए ।

केन्द्रीय रिफरल पशु चिकित्सालय बाट गएको विज्ञसहितको ९ जना टोलीले ३ दिन लगाएर १४१ वटा कुकुरको निःशुल्क बन्ध्याकरण गरेर रेबिज रोग विरुद्धको खोप दिएको थियो । टोलीमा चिकित्सालयका डग क्याचरदेखि प्राविधि र चिकित्सहरू समावेश थिए ।

नेपालले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता गरेको छ । चिकित्सालयका डाक्टर सुदीप रेग्मीका अनुसार नेपालमा करिब ९९ प्रतिशति रोबिजका घट्ना मानिसमा कुकुरको टोकाइबाट सर्ने गरेको छ । उनका अनुसार विश्व पशु स्वास्थ्य संगठनले ‘समाउने,बन्ध्याकरण गर्ने,खोप लगाउने र छाड्ने’ पद्दतिलाई सामुदायिक कुकुर व्यवस्थापनको वैज्ञानिक पद्धति मान्ने गरेको छ ।

चिकित्सालयका वरिष्ठ पशु चिकित्सक डा अर्जुन अर्याल विगतका वर्षहरूमा पनि केन्द्रीय रिफरल पशु चिकित्सालयबाट कोसी,वाग्मती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदेशस्‍तरीय बन्ध्याकरण कार्यक्रम सम्पन्न गरेको बताउँछन् ।

यस वर्ष लुम्बिनी र मधेश प्रदेशका जिल्लाहरूमा यो अभियान सञ्चालन गरिने डाक्टर अर्यालले जानकारी दिए ।

Logo