(यूएन)का महासचिव गुटरेसको भ्रमण तालिका : आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता

(यूएन)का महासचिव गुटरेसको भ्रमण तालिका : आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं एक्सप्रेस

काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि आएका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने छन् ।

राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Logo