गुटेरेस माला र टोपीमा सजिँदा…

गुटेरेस माला र टोपीमा सजिँदा…

काठमाडौं एक्सप्रेस

काठमाडौं, । पोखरा भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लनुभएका उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो ।

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गर्नुभएको थियो । उहाँको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए ।

तिहारको छेकोमा पोखरा भ्रमणमा आउनुभएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उहाँले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो ।

महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए ।

चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनलाई आज पोखरा भ्रमणमा आएका हुन् । उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बसेका छन् । महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जानुहुने कार्यक्रम छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाईएको छ ।

महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व पाएका हुन् ।

Logo