महासचिव गुटेरेसले आधा घण्टा पुम्दीकोटमा विताए

महासचिव गुटेरेसले आधा घण्टा पुम्दीकोटमा विताए

काठमाडौं एक्सप्रेस

गण्डकी, । नेपालको औपचारिक भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेका छन् ।

आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुगेका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गरेका थिए ।

महासचिव गुटेरेसले पुम्दीकोटस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गरेका थिए । महासचिव गुुटेरेसले करिब आधा घण्टा पुम्दीकोटमा विताएको समितिका सदस्य मातृका बरालले जानकारी दिए ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट अग्लो महादेवको विशाल मूर्ति पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट विकास समितिका अध्यक्ष बरालले बताए ।

संयुक्त राष्ट्रसंघका महासचिवको पुम्दीकोटको भ्रमणले यस स्थानका विश्वव्यापी प्रवद्र्धन हुने विश्वास लिइएको निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट पर्यटन विकास समितिका अध्यक्ष बरालले बताए ।

“महासचिव गुटेरेसले पुम्दीकोटको अवलोकनसँगै त्यहाँबाट देखिने हिमाली दृश्य, फेवातालसहित पोखराको अभिरुचिपूर्वक अवलोकन गर्नुुले यहाँको विश्वव्यापी प्रवद्र्धन भएको छ”, उनले भने,“उहाँको आगमनले हामीलाई हर्षितसँगै थप उत्साहित बनाएको छ ।”

महासचिव गुटेरेसले फेवातालमा नौका विहार गरेका छन् । उनको भ्रमणले पोखराको पर्यटन विश्वव्यापीरुपमा प्रवर्द्धन भएको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए ।

महासचिव गुटेरेस फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुुगी दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिएका थिए ।

Logo