कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापति देउवा

कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापति देउवा

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताए ।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उनले उल्लेख गरे ।

सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखे । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भने, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”

देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए । उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरे । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए ।

देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो । सो अवसरमा सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।

Logo