नेपालमा लगानी बढाउन आग्रह

नेपालमा लगानी बढाउन आग्रह

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन्। एसिया–प्रशान्त चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यासी) परिसंघको ३७ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।

नेपाली अर्थतन्त्रले प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर बृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए । पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्ताहरूका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले बताए ।

नेपालको जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युत्को प्रचुर बजार सिर्जनाभएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत् परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताए ।

यसैगरी विश्वस्तरीय होटल र विमानस्थललगायत पर्यटन पूर्वाधार बनिसकेकाले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको जानकारी पनि अध्यक्ष ढकालले दिए ।

Logo