रिगलको कैद मिनाहाको घटनामा सरकारले माफी माग्नुपर्दैन ?

रिगलको कैद मिनाहाको घटनामा सरकारले माफी माग्नुपर्दैन ?

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) को कैद मिनाहाको घटनामा सरकारले माफी माग्नुपर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले रिगलको कैद मिनाहाका विषयमा सरकारले नैतिक जिम्मेवारी नलिएको धारणा राखेका हुन् ।

‘सर्वोच्चले गल्ती भयो भनेर फैसला गर्दासमेत कोही पनि आत्मलोचना गरेको देख्दिन । हाम्रो पार्टीको कानूनमन्त्री हुनुहुन्छ, पार्टीको उपसभापति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रिपरिषदमा उपप्रधानमन्त्री हुनुहुन्छ । कसैले जिम्मेवारी लिनुपर्दैन ? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन ? बोल्नुपर्दैन ?’ उनले प्रश्न गरे ।

नेपालगञ्जका चेतन मानन्धर हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल)लाई ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले दिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले उक्त कैद मिनाहा बदर गरिदिएको थियो । सर्वोच्चको आदेशपछि रिगल पुनः जेल परेका छन् ।

महामन्त्री शर्माले रिगलको कैद मिनाहाको सिफारिस आएपछि राष्ट्रपति कार्यालयले पनि विचार गर्र्नुपर्ने धारणा राखे । यस्तो गम्भीर घटना हुँदा पनि राज्यले केही थाहा नपाएजस्तो गरिरहेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो । कसैले राजीनामाको चरणमा पुग्न नसक्ने हो भने माफी मागेर आउनुपर्दथ्यो सरकारको तर्फबाट । त्यो पनि होइन भने आत्मलोचना हुनुपर्दैन ? कोही छैन जिम्मेवारी लिने ?’ उनले प्रश्न गरे ।

Logo