ललितपुर– महालक्ष्मी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई चाडवाड खर्च वितरण गरेको छ ।
नगरपालिकाले बुधबार लुभुमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठ तथा उपप्रमुख लक्ष्मी महर्जनले चाडवाड खर्च वितरण गरेका हुन् । नगरका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले ४५ जना स्वास्थ्य स्वयंसेविका तथा सेवा निवृत्त भएका ६ जनालाई समेत गरी १२ हजार रुपैयाँका दरले चाडवाड खर्च वितरण गरिएको छ । कार्यक्रममा सेवा निवृत्तलाई दोसल्ला ओढाएर प्रमाणपत्र तथा नगद वितरण गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरूले समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको उल्लेख गरे ।
सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ६० हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
उपप्रमुख लक्ष्मी महर्जनले स्वयंसेविकाहरूले नगरको स्वास्थ्य क्षेत्रमा दिएको योगदानको उच्च कदर गर्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, ८ नम्बर वडाका वडाध्यक्ष विश्वराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली, स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर अफिसर गिता आचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल, ७ नम्बर वडाका वडाध्यक्ष बाबुराजा महर्जनको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहोराले गरेका थिए ।
कार्यक्रममा सुचकाङ्कको आधारमा प्रथम स्थानमा रहेको लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो स्थानमा रहेको सिद्धिपुर स्वास्थ चौकी र तेस्रो स्थानमा रहेको इमाडोल स्वास्थ्य चौकीका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया