नास्टको ४६ करोड बजेट स्वीकृत

नास्टको ४६ करोड बजेट स्वीकृत

काठमाडौं एक्सप्रेस

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४६ औं प्राज्ञसभा बैठकले ४६ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको अध्यक्षतामा सम्पन्न भएको प्राज्ञसभाले नास्टलाई आर्थिक वर्ष २०८०/०८१ को लागि कूल बजेट ४६ करोड २५ लाख ९० हजारको कार्यक्रम बजेट स्वीकृत गरेको नास्टका सचिव डाक्टर रविन्द्र ढकालले जानकारी दिए । कोषले २०७९/०८० र २०८०/०८१ मा प्रदान गरिने विज्ञान तथा प्रविधि विधाका विभिन्न पुरस्कारहरु प्रदान गर्ने निर्णय पनि गरेको उनले बताए ।

प्राज्ञसभामा मन्तव्य दिँदै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले प्रतिष्ठान स्थापनाको ४० वर्ष पार भइसकेको अवस्थामा देशमा विज्ञान तथा प्रविधिको विकास गर्नमा के कति योगदान नास्टले दियो र अब कुन कुन क्षेत्रमा केन्द्रित भई योजनावद्धरुपमा अवधि लक्षित कार्यक्रमका तर्जुमा गरी कार्यान्वयनतर्फ पनि ध्यान दिन निर्देशन दिएका छन् । उनले वैज्ञानिकहरुले देशको आवश्यकतालाई समेट्ने खालका परियोजना प्रस्तावहरु तयार गर्न जागरुक हुन जरुरी रहेको बताए । नास्टप्रति नेपाली जनताको बढी अपेक्षा रहेकोले देशको लागि अनुसन्धान र नवप्रवर्तन मार्फत उपयुक्त प्रविधि विकास एवं परिमार्जनमा परिमाणात्मक प्रभाव देखाउन सक्षम हुन आवश्यक रहेको प्रधानमन्त्री दाहालले प्राज्ञसभामा बताएका थिए ।

सोही अवसरमा उनले सीमित बजेटका बाबजूद प्रतिष्ठानले नवप्रवर्तन एवं प्रविधि विकास, नानो स्याटेलाइट लगायत विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोमा धन्यवाद दिँदै जनताको जीवनस्तर उठाउने गरी अनुसन्धान र विकास गर्ने गरी अघि बढ्न वैज्ञानिकहरुलाई आग्रह गरे ।

४६ औं प्राज्ञसभामा स्वागत मन्तव्य व्यक्त गर्दै उपकुलपति प्राध्यापक डाक्टर दिलीप सुब्बाले प्रतिष्ठानको जिम्मेवारी बृहत भएतापनि विविध कारणले अपेक्षाकृत लक्ष्य हासिल गर्न कठिनाई आइपरेको बताए । उनले आगामी दिनमा नयाँ सोचका साथ कार्यक्रम तयार गरी अगाडि बढ्ने जानकारी दिए । उनले मानवीय संशाधन र साधन स्रोतको उचित उपलब्धता हुन सकेमा निरुपित उद्देश्य प्राप्तिमा सहज हुने पनि बताए ।

सभाका सदस्यहरुले प्रतिष्ठानको उपकुलपतिको मर्यादाक्रममा भएको हेरफेरका सम्बन्धमा र प्रतिष्ठानले आगामी दिनमा अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । नास्टका सचिव ढकालले प्राज्ञसभाको कार्यसूचि प्रस्तुत गरेका थिए ।

Logo