चिनियाँ सहरसँग भगिनी सम्बन्ध गाँस्दै महालक्ष्मी नगरपालिका

चिनियाँ सहरसँग भगिनी सम्बन्ध गाँस्दै महालक्ष्मी नगरपालिका

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकाले पहिलोपटक अन्तर्राष्ट्रिय सिटीसँग भगिनी सम्बन्ध विस्तार गर्ने तयारी गरेको छ ।

मंसिर ५ गते काठमाडौंमा एक कार्यक्रमबीच महालक्ष्मी नगरपालिकाले छिमेकी राष्ट्र चीनको च्याङ्सी प्रान्तको जिन्गानशान सिटीसँग भगिनी सम्बन्ध कायम गर्ने नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए । जिन्गानशान सिटीका उच्च अधिकारीहरु भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धीको सम्झौतापत्रमा हस्ताक्षर गर्न काठमाडौं आउने भएका छन् ।

नगर प्रमुख श्रेष्ठका अनुसार चिनियाँ प्रतिनिधिमण्डल मंसिर ४ गते सोमबार महालक्ष्मी नगर क्षेत्रको अवलोकनमा आउनेछन् । उनीहरुलाई नगर प्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले नगरपालिकाको प्रशासकीय भवनमा स्वागत गर्ते कार्यक्रम छ ।

चिनियाँ प्रतिनिधि मण्डलले महालक्ष्मी नगरपालिकाको सिद्धिपुर, लुभु तथा लाँकुरी भञ्ज्याङ क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । “चिनियाँ सहरसँग भगिनी सम्बन्ध कायम गर्ने विषयलाई नगरपालिकाले उच्च महत्त्व दिएको छ,” नगर प्रमुख श्रेष्ठले काठमाडौं एक्सप्रेससँग भने, “आशा छ महालक्ष्मी नगरपालिकाकाले साँस्कृतिक, पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्ने ठूलो सहयोग हुनेछ ।” उनले सम्झौता भएसँगै दुवै सहरबीच अशल अभ्यास आदान प्रदानका लागि कार्यक्रमहरु तय गरिने जानकारी दिए ।

दुवै सहरबीच भगिनी सम्बन्धी विस्तार सम्बन्धी चार बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

महालक्ष्मी नगरपालिकाले अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध विस्तार गरेको पहिलोपटक हो । मुलुकभित्रका स्थानीय तहमध्ये धनकुटाको महालक्ष्मी नगरपालिकासँग भने अघिल्लो कार्यकालमा नै भगिनी सम्बन्ध कायम भइसकेको थियो ।

जिन्गानशान सिटी चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिममा रहेको छ । जिन्गानशान सिटी हुनान प्रान्तको सिमानामा पर्दछ । लुक्सियाओ पर्वत क्षेत्रमा रहेको जिन्गानशान सिटी १२ सय ७६ वर्ग किलोमिटरमा फैलिएको छ ।

Logo