गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट नहोस : अध्यक्ष ओली

गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट नहोस : अध्यक्ष ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन्।

दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसीर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताए ।

पार्टीको जनसंगठन संयन्त्रले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गरे।

उनले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसीर ७ गते युवा÷विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए। उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा÷विद्यार्थीहरूलाई निर्देशन दिए।

ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरुले सो प्रदर्शनीको आह्वान गरेको बताए।

Logo