खुम्बु क्षेत्रको लोबुचेमा अवस्थित अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गर्न नास्टले अग्रसरता देखाएको छ । सन् २०१५ देखि बजेट अभावपछि बन्द अवस्थामा रहेको ५ हजार ५० मिटरको उचाईमा रहेको पिरामिड प्रयोगशाला कसरी सञ्चालन गर्न सकिन्छ भनेर नास्टका उच्चस्तरीय टोलीले नाम्चेमा छलफल सुरु गरेको छ ।
इटाली सरकारको सीएनआरको आर्थिक सहयोगमा पिरामिड ल्याब सञ्चालन हुँदै आएको थियो तर सन् २०१४ पछि बजेट उपलब्ध हुन छाडेपछि बन्द अवस्थामा छ ।
नास्टका सचिव डा रविन्द्र ढकाल नेतृत्वको टोलीले खुम्बु क्षेत्रका जनप्रतिनिधिहरूसँग ल्याब सञ्चालन सम्बन्धमा छलफल सुरु गरेको हो । ढकालको टोलीमा नास्टका मुख्य वैज्ञानिक अधिकृत गन बज्रचार्य, वरिष्ठ वैज्ञानिक देवेश कोइराला, योजना महाशाखाका प्रमुख भोजराज अधिकारी, प्रशासन प्रमुख शिव उपाध्यय,नास्टका प्रेम चौधरी र पिरमिड ल्याबका कर्मचारी काजी विष्टसहित छ । उनीहरूले सगरमाथा प्रवेशद्वार नाम्चे बजारमा छलफल एवं अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियामा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा, वडाध्यक्षहरू, पालिकाका वातावरण विभाग प्रमुख, सागरमाथा पोलुसन कन्ट्रोल कमिटी, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, सुरक्षा निकायहरूका प्रतिनिधिलगायत स्थानीय सरोकारवालाहरू सहभागी रहेको नास्टका सचिव रविन्द्र ढकालले काठमाडौं एक्सप्रेसलाई जानकारी दिए ।
‘पिरामिड ल्याब सञ्चालनबारे हामीले स्थानीय सरोकारवालाहरूसँग छलफल गर्यौं,’ सचिव ढकालले भने,’ल्याबलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेबारेमा छलफल चलाउँदै सबै पक्षबाट सकरात्मक जवाफ आएको छ । ‘ छलफलमा सरोकारवालाहरूले ल्याबबाट आएका सूचना सर्वसाधरणको पहुँच पनि उपलब्ध हुनुपर्ने माग राखेका थिए ।
छलफलमा पिरामिड ल्याब सञ्चालन गर्नका लागि हालसम्म भएका प्रयासबारे मुख्य वैज्ञानिक अधिकृत देवेश कोइरालाले जानकारी गराएका थिए ।
नास्टले सन् २०२४ मा इटालियन वैज्ञानिकहरूसँग मिलेर नै पुनः ल्याब सञ्चालन गर्ने तयारी गरेको छ । अन्य निकायहरूलाई पनि ल्याब सञ्चालनका लागि नास्टले सहकार्यको बाटो खुला राखेको सचिव ढकालले बताए ।
हिमाली वातावरण, वायुमण्डलीय प्रदूषण, शरीर विज्ञान, भूगर्भ र जैविक विविधताको बारेमा अध्ययन गर्न अन्तर्राष्ट्रिय समुदायका लागि यो प्रयोगशाला एउटा विशिष्ट वैज्ञानिक स्रोतको रुपमा चिनिएको छ । पिरामिड ल्याबबाट अहिलेसम्म १ सय ४३ फरक संस्थाका २ सय ५० जना अनुसन्धानकर्ताहरूले ५ सय ३० वटा भन्दा बढी अनुसन्धान गरिसकेका छन् । एक समयमा यहाँ दुई व्यवस्थापक, एक निरीक्षक (सुपरभाइजर) र ११ जना कर्मचारीको समूहले दैनिक कार्य सम्पादनको नियमित रूपमा जाँच गर्ने गरेका थिए ।
सन् १९८९ मा स्थापना भएको ल्याबलाई तत्कालीन रोनास्ट र ईभी–के टु–सीएनआर कमिटीले पिरामिड ल्याबोरेटरी तथा अब्जरभेटरीको संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका थिए । ईभी–के–टु–सीएनआर परियोजना इटाली सरकारको प्राविधिक वैज्ञानिक आयोगको सल्लाह सञ्चालन गर्दै आएको सीएनआरले ल्याब सञ्चालनका लागि लगानी गर्दै आएको थियो । सीएनआरले ‘ईभी–के टु–सीएनआर’ लाई बजेट दिन छाडेपछि पिरामिड सहज ढंगले चल्न छाड्यो ।
खुम्बु पासाङ ल्हामू गाउँपालिकामा अवस्थित पिरामिड ल्याबलाई ३ भागमा विभाजन गरिएको छ । यहाँ सानोदेखि ठूला प्रयोगशालाहरू, रेडियो र स्याटलाइट सञ्चार प्रणाली राखिएका छन् । पहिलोमा रेस्टुरेन्ट र दुईवटा ठूलो प्रयोगशाला र एउटा रसायन विश्लेषण इकाइ छ, दोस्रोमा मध्यम आकारको प्रयोगशाला र हाइपरब्यारिक कक्ष छ । तेस्रो कक्ष डेटा प्रशोधन, दूरसञ्चार तथा व्यवस्थापनका लागि छुट्याइएको छ । प्रयोगशालाको दक्षिणतर्फ २० जनासम्म अनुसन्धानकर्ता, प्राविधिक तथा बस्दोबस्तीका कर्मचारी एक्लाएक्लै बस्न मिल्ने इकाइ छन् । त्यो प्रयोगशालाले स्वचालित मौसम केन्द्रहरू सञ्चालन गर्दै आएको छ र डेटा दीर्घकालसम्म प्राप्त भइरहने सुनिश्चितता गरेको छ ।
प्रतिक्रिया