देउवालाई गगनको आग्रह : तपाई अभिभावक भएर बस्नुहोस, मलाई जिम्मेवारी छोड्नुहोस

देउवालाई गगनको आग्रह : तपाई अभिभावक भएर बस्नुहोस, मलाई जिम्मेवारी छोड्नुहोस

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न आग्रह गरेका छन् ।

आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै थापाले आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न देउवालाई आग्रह गरेका हुन् । सोमबार सभापति देउवा पनि सहभागी पार्टीको नवलपुर जिल्ला सम्मेलनमा थापाले भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’

थापाले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै देउवामाथि प्रश्न पनि गरेका छन् । ‘एउटा कार्यकर्ता दिनको ५/६ घण्टा पार्टी कामलाई दिन्छ । त्यो ५/६ घण्टामध्ये २/३ घण्टा त उसको कुनै गुटको हिसाबकिताव गर्न जान्छ’ थापाले भने ।

टिकट पाउनकै लागि पार्टीमा गुटबन्दीले प्रश्रय पाएको भन्दै थापाले माथिल्लो समितिले टिकट वितरण गर्ने हालको नियम आगामी निर्वाचनदेखि बदल्नुपर्ने बताए ।

‘सबैले माथितिर हेर्नुपरेको छ । यसलाई हामीले बदल्नुपर्छ’, उनले भने । टिकट वितरणको पद्धति सम्बन्धित तहका क्रियाशील सदस्यले नै दिने गरी नयाँ विधि बसाल्नुपर्ने उनले बताए ।

कांग्रेसलाई भोटको राजनीति मात्रै गर्ने सुविधा नभएको बताउँदै थापाले देश सम्हाल्ने पार्टी पनि कांग्रेस भएको दाबी गरे । ‘यसो गरे भोट आउँछ, यसो गरे भोट आउँदैन भनेर भोटको मात्रै राजनीति गर्ने हो भने देशको जिम्मा चाहिं कसले लिने हो?’ थापाको प्रश्न थियो ।

Logo