जलीय जैविक विविधतामा प्लास्टिकले पारेको असरबारे अनुसन्धान सुरू

जलीय जैविक विविधतामा प्लास्टिकले पारेको असरबारे अनुसन्धान सुरू

काठमाडौं एक्सप्रेस

जलीय जैविक विविधतामा प्लास्टिक प्रदूषणले पार्ने असरबारे बहुवर्षीय अनुसन्धान परियोजना सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र जर्मनकी गोथे विश्वविद्यालयले संयुक्त रुपमा अनुसन्धान गर्न लागेका हुन् ।

प्लास्टिकका ससना कणहरू जलीय जीवले खाने र ती जीव हुँदै मानव शरीररमा समेत पुग्ने जोखिम भएकाले पहिलो चरणमा वाग्मती र सेती नदी क्षेत्रमा अनुसन्धान गर्न लागिएको मुख्य अनुसन्धानकर्ता त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागका उपप्राध्यापक डाक्टर दीपनारायण शाहले बताए । उपप्राध्यापक शाहकै नेतृत्वमा हुने यो अनुसन्धानमा विभागका उपप्राध्यापक डाक्टर रमेशप्रसाद सापकोटा, काठमाडौं विश्विद्यालयकी उपप्राध्यापक रामदेवी तचामो शाह र गोथे विश्वविद्यालयकी डाक्टर हेक जिमरमन तिम सहभागी छन् ।

नदी प्रदूषण बढ्दै जाँदा प्लास्टिकको मात्रा पनि थुप्रिने र ती प्लास्टिक टुक्रिदै स-सना कण बनिँदा जलीय जीवले खान्छन् । त्यस्ता कणको सेवनले पारिस्थितकीय प्रणालीलाई असर गर्ने उपप्राध्यापक शाहले बताए ।

अनुसन्धान परियोजनाबारे जानकारी दिँदै उपप्राध्यापक डाक्टर दीपनारायण शाह ।

३० महिनाको अवधि रहने यो अनुसन्धानमा अनुसन्धानकर्ताहरूले वाग्मती र सेती नदीका ६० किलोमिटरभन्दा बढी क्षेत्रमा पाइने प्लास्टिकको मात्राको अध्ययनसँगै तटीय क्षेत्रमा तीनको उपस्थितीको बारेमा समेत अध्ययन गर्दैछन् । यस्तै माइक्रो प्लास्टिकको उपस्थितीबारेमा समेत तथ्यांक संलकन गरिने उनले बताए । ५ माइक्रोनभन्दा कम आकारका प्लास्टिकलाई माइक्रो प्लास्टिक भनिन्छ ।

अनुसन्धानबाट गाँउ,खेती र सहरी क्षेत्र हुँदै बहने खोला क्षेत्रमा पाइने प्लास्टिकको मात्राको तथ्यांक संकलन हुने, नदी क्षेत्रमा फोहोर उत्सर्जन र प्लास्टिकबीचको अन्तरसम्बन्ध थाहा पाइने उनले बताए ।

यस्तै यो अनुसन्धानबाट माइक्रो प्लास्टिकले माछा र म्याक्रोइन्भर्टिब्रेट्स भनिने जलीय किराहरूलाई कस्तो असर पार्छ भन्ने असर समेतको आँकलन गरिने छ । यस्तै नीतिगत सुझावहरू अनुसन्धान दिने अपेक्षा लिइएको छ ।

अनुसन्धान परियोजना बारे अनुसन्धान टोलीले त्रिभुवन विश्वविद्यालयमा केही हप्ताअघि यसबारे इन्सेप्सन वर्कसपको आयोजना गरेको छ । जसमा त्रिवि विज्ञान स‌कायका डिन प्राडा विनिल अर्याल,त्रिवि वातावरण विभागका प्रमुख,पूर्व प्रमुख,प्राध्यापकलगायतको उपस्थिती थियो ।

प्लास्टिकलाई जुनसुकै आकारमा लैजान सकिने भएकाले धेरै ठाउँमा प्रयोग हुन्छ। कम लागत, धेरै ठाउँमा प्रयोग गर्न मिल्ने भएकाले यसको खपत धेरै छ । सहरीकरण र आर्थिक वृद्धिका कारण प्लास्टिकजन्य फोहोरको उत्पादन बढेपछि विश्वमा अर्को चुनौती थपिएको हो ।

लामो समयसम्म नकुहिने भएकाले वातावरणमा प्लास्टिकको असर धेरै हुन्छ। पानीमा बस्ने जलीय जीवका लागि प्लास्टिक अभिशाप बन्दैछ। गत वर्षको विश्व बैंकको प्रतिवेदनअनुसार समुद्री तटीय क्षेत्रमा सबैभन्दा धेरै प्लास्टिकजन्य फोहोर छ। त्यसमध्ये ९४ प्रतिशत फोहोर प्लास्टिकका छन् जसले कुल फोहोरको ७१ प्रतिशत तौल ओगटेको छ। ती प्लास्टिकजन्य फोहोरमध्ये ६० प्रतिशत एकपटक प्रयोग गर्न मिल्ने खालका मात्रै छन्। अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलेपमेन्टले सन् २०२२ मा अध्ययन गर्‍यो। जसमा सन् २००० देखि २०१९ सम्म प्लास्टिकको उत्पादन बढेर ४ सय ६० मिलियन टन पुगेको पाइन्छ। जसमा ९ प्रतिशतमात्र फोहोर पुनप्र्रयोग गरिएको थियो। बाँकी सबै ल्यान्डफिल साइट र समुद्रमा फालियो।

समुद्रमा प्लास्टिकको मात्रा बढ्दै जाँदा डल्फिन, कछुवा, सामुद्रिक चराहरूको श्वासप्रश्वासमा पनि असर गरिरहेको छ। सन् २०१५ को अध्ययनले समुद्रमा हुने प्लास्टिक फोहोरले सन् २०५० सम्ममा ६ सय प्रजातिलाई असर गर्ने उल्लेख गरेको छ। जेमबिकको सो अध्ययनले १५ प्रतिशत सामुद्रिक प्रजाति संकटापन्न अवस्थामा प्लास्टिक खाने र अड्किने गरेको देखाएको छ। प्लास्टिकको प्रभाव हाम्रो परिस्थितीकीय प्रणालीमा पनि परेको छ। जसको असर वन्यजन्तुसँगै खाद्यचक्रमा पुगेको छ। प्लास्टिकजन्य झोला, बोतलहरू जथाभावी फाल्दा त्यसले प्रदूषणमात्रै बढाएको छैन, जमिनको उर्वराशक्तिलाई पनि ह्रास बनाउँदैछ। खाद्य उत्पादनमा पनि असर गरेको छ। ल्यान्डफिल साइटहरूबाट प्लास्टिकजन्य फोहोरको लिचेड जमिनमुनिको भूमिगत पानीको स्रोतसम्म पुग्ने खतरा हुन्छ। जलाउँदा पनि मानिसमा गम्भीर स्वास्थ्य समस्या देखिन्छ।

नेपालमा हरेक हप्ताजसो बागमती सरसफाइ अभियान चल्छ तर फोहोर घटेको छैन। प्लास्टिकको फोहोरको मात्रा धेरै नै बढेको छ। यसको निराकरणका लागि आधुनिक प्रविधिको प्रयोग गर्न जरुरी छ। विश्व बैंकको २०२२ को प्रतिवेदनमा भनेजस्तो सरकारी निकायका नीति तथा कार्यविधिलाई पूर्ण रूपमा पालना गर्दै दिगो फोहोर व्यवस्थापन गर्न सकिन्छ। नेपालमा धेरै नीति भए पनि कार्यान्वयन पक्ष एकदमै चुनौतीपूर्ण छ।

विभिन्न अध्ययनहरूले हरेक वर्ष ५ ट्रिलियन प्लास्टिक झोला उत्पादन हुने गर्छ। एउटा व्यक्तिले हरेक वर्ष तीन सयसम्म प्लास्टिकको झोला प्रयोग गर्ने अनुमान छ। नेपालमा वार्षिक २ सय ४ टन प्लास्टिक फोहोर उत्पादन हुने र तिनमा १ सय ३१ टन प्लास्टिक फोहोरकै रूपमा र डम्पिङ साइटमा जाने गरेको सन् २०१८ मा प्रकाशित अध्ययनले देखाएको छ।

Logo