भूकम्प पीडितको सहायता कोषमा झण्डै १९ करोड रुपैयाँ संकलन

भूकम्प पीडितको सहायता कोषमा झण्डै १९ करोड रुपैयाँ संकलन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा झण्डै १९ करोड रुपैयाँ संकलन भएको छ। गत कार्तिक १९ गतेदेखि मंसिर ११ गतेसम्मको अवधिमा ७४ वटा सङ्घसंस्था तथा व्यक्तिगत तवरबाट सो रकम सहयोग गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत कात्तिक १९ गते विभिन्न निकाय तथा व्यक्तिलाई नौ वटा वाणिज्य बैङ्कको खाता नम्बरसहित प्रधानमन्त्री प्रकोप सहायता कोषमा राहत जम्मा गर्नका लागि आह्वान गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार कात्तिक १९ गतेदेखि मंसिर ११ गतेसम्मको अवधिमा बैंक खातामार्फत कोषमा १८ करोड ९१ लाख ९६ हजार एक सय ८२ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले ७४ वटा संस्था/ तथा व्यक्तिले १८ करोड ९१ लाख रुपैयाँ कोषमा जम्मा गरेको बताए।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार एक करोड रुपैयाँ जम्मा गर्नेमा भाटभटेनीमा सञ्चालक मिनबहादुर गुरुङ रहेका छन्।

सञ्चालक गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ कोषमा जम्मा गरेका छन्। बुद्ध एयरले एक करोड रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय वाणिज्य बैङ्कले पनि सरकारी कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। सूर्या नेपाल प्रालिले पनि एक करोड रुपैयाँ सहयोग गरेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैङ्कले पनि एक करोड रुपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र गोर्खा ब्रुअरीले पनि एक÷एक करोड रुपैयाँ सरकारी कोषमा जम्मा गरेका छन्। त्यसैगरी युनिलिभर नेपाल लिमिटेडले पनि एक करोड रुपैयाँ सहयोग गरेको छ।

Logo