अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी गर्नुहोस : सभामुख घिमिरे

अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी गर्नुहोस : सभामुख घिमिरे

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन्।

बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौंमा सुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरु केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको जिकिर गरे। उनले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दा पनि अनुकूलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिने गरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताए।

सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए। उनले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरूको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरुको अनिश्चितता लगायतका कुराहरुले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको उल्लेख गरे।

निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गर्दै उनले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको सुनाए।

Logo