लुभुमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

लुभुमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । वडा नम्बर ८ लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सेवालाई उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी सेवालाई थप व्यवस्थित जनमुखी र प्रभावकारी बनाउन निर्देशन दिए । आधारभूत स्वास्थ्य सेवालाई जनताको मौलिक अधिकारको रुपमा स्थापित गरिएको बताउँदै उनले भने, ‘आफ्नो आवश्यकता अनुरुपको स्वास्थ्य सेवा आफैं व्यवस्थापन गर्न स्थानीय स्रोतको सदुपयोग र जन सहभागिता परिचालन गरी सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ ।’

वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले स्वास्थ्य सेवाबाट वञ्चित स्थानीय समुदायहरुलाई स्वास्थ्य सेवाको पहु“च सुनिश्चितताका लागि काम गर्नुपर्नेमा जोड दिए ।

वडा नम्बर ८ का वडा सदस्य निरञ्जन पौडेलले स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार, औषधि, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणहरुको उपलब्धतामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वडा सदस्य विनोद केसी, जयन्ती महर्जन, उमा मिजार र स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले प्रशिक्षण दिएका थिए । उनले सेवा प्रबाहको गुणस्तरीयता सुनिश्चितता गर्न तथ्यमा आधारित स्थानीय स्वास्थ्य योजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहोराले गरेका थिए । उनले स्थानीय सरकारको स्वास्थ्य क्षेत्रको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि कार्यक्रम फलदायी भएको बताए ।

Logo