चाङ्गाथलीमा पनि स्वास्थ्यको क्षमता अभिवृद्धि कार्यक्रम

चाङ्गाथलीमा पनि स्वास्थ्यको क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य व्यवस्थापन समितिलाई वडागतरुपमा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिरहेको छ । वडा नम्बर ७ चाङ्गाथलीमा नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सेवालाई थप व्यवस्थित, जनमुखी र प्रभावकारी बनाउन निर्देशन दिए । उनले भने, ‘जनप्रतिनिधि र स्वास्थ्यकर्मीको साझा प्रयासबाट सुलभ रुपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ ।’

वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जनले वडातहमै स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार, औषधि, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणहरुको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडा सदस्यहरु, वडाका कर्मचारीहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले प्रशिक्षण दिएका थिए । उनले सेवा प्रवाहको गुणस्तरीयता सुनिश्चितता गर्न तथ्यमा आधारित स्थानीय स्वास्थ्य योजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भरत बोहोराले गरेका थिए । उनले स्थानीय सरकारको स्वास्थ्य क्षेत्रको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि कार्यक्रम फलदायी भएको बताए ।

Logo