राष्ट्रिय जैविक सुरक्षा सम्बन्धी नेपाली वैज्ञानिकहरू छलफलमा

राष्ट्रिय जैविक सुरक्षा सम्बन्धी नेपाली वैज्ञानिकहरू छलफलमा

काठमाडौं एक्सप्रेस

नेपालमा राष्ट्रिय जैविक सुरक्षा सम्बन्धी वैज्ञानिकहरू छलफलमा जुटेका छन् । नेशनल इको-सेक्युरिटी सिस्टम(NESS) सम्बन्धी नेपालमा वैज्ञानिकहरूलाई एकीकृत गराउने उद्देश्यले समन्वय सुरू गरिएको हो ।

गत अक्टोबरमा इको सेक्युरिटी सम्बन्धी चीनमा भएको अन्तर्राष्ट्रिय बैठकले संसारका सबै मुलुकहरूमा जैविक सुरक्षा सम्बन्धी नेटवर्क स्थापना गर्ने तयारी अनुरूप नेपालमा पनि बैठक सुरू गरिएको नेसाका नेपाल सम्पर्क व्यक्ति डाक्टर चिरन्जिवीप्रसाद पोखरेलले जानकारी दिए ।

सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा भएको छलफलमा विज्ञान, समाजशास्त्र, अर्थशास्त्र, इन्जिनियरिङ्लगायत अन्य विविध क्षेत्रबाट सहभागी भएको डाक्टर पोखरेले बताए । सो अवसरमा डाक्टर पोखरेलले नेसबारे प्रस्तुति दिँदै औचित्य र अवसरका बारेमा प्रष्ट्याएका थिए ।

नेसले भावी पुस्तालाई लक्षित गरेर सुरक्षित पृथ्वी कसरी बनाउने भन्नेबारे अभियान सञ्चालन गर्ने संरक्षणविद् अम्बिकाप्रसाद खतिवडाले बताए । ‘यो नेटवर्क यसकारण पनि आवश्यकता छ कि अहिले भइरहेका विश्वव्यापी वातावरणीय विनाशका मुद्दाहरूलाई कसरी सम्बोधन गर्ने र समन्वयकारी भूमिकाबाट कसरी अगाडि बढ्दै सचेतना फैलाउने भन्नेमा केन्द्रीत हुनेछ, ‘ खतिवडाले भने ।

समन्वय बैठकमा नेपालमा हुने अनुसन्धानको निष्कर्षलाई कसरी विश्वव्यापी बनाउने, अनुसन्धानका नयाँ आयामहरूको बारेमा छलफल भएको वातावरण विज्ञ गोविन्द पोखरेलले बताए । ‘पहिलो चरणमा हामीले नेपालमा रहेका नयाँ पुस्ताका अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया र अनुसन्धान गर्ने क्षेत्रका विषयहरुका बारेमा छलफल गरियो,’ पोखरेलले भने ।

नेसमा सबै विधाका अनुसन्धानकर्ताहरू अटाउने र आगामी दिनमा यो नेटवर्कलाई विस्तार गर्दै लैजाने तयारी रहेको खतिवडाले बताए । खतिवडाका अनुसार नेसले विशेष गरेर नयाँ पुस्ताका अनुसन्धानकर्ताहरूलाई समन्वय गर्दै सुरक्षित पृथ्वी कसरी बनाउन सकिन्छ भन्ने सवालमा क्षमता अभिवृद्धिका कार्यक्रमहरू समेत सञ्चालन गर्नेछ ।

Logo