कालिका मन्दिरमा पूजा गरेपछि ओलीले भने : कुनै हालतमा राजतन्त्र फर्कँदैन

कालिका मन्दिरमा पूजा गरेपछि ओलीले भने : कुनै हालतमा राजतन्त्र फर्कँदैन

काठमाडौं एक्सप्रेस

बागलुङ, – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उहाँकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिएका थिए । अध्यक्ष ओलीसहित मन्दिर पुग्नुभएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गरेका थिए । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले मन्दिर परिसरमा विवाह गरिरहेका जोडीलाई बधाई दिएका थिए ।

राजतन्त्र फर्कँदैन : ओली

एमाले अध्यक्ष ओलीले आजै पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने गरेका छन् । “जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन”, उनले भने, । सो अवसरमा उहाँले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी पनि गरे ।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्र निर्माणको खाका र योजना बनाउने उनको भनाइ थियो ।

सङ्कल्प यात्रामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापासहित महासचिव शङ्कर पोखरेललगायतका नेताहरू सहभागी हुनुभएको थियो । त्यस अवसरमा एमाले केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले पर्वतको विकास निर्माण तथा अन्य आयोजनाहरूको मागपत्र प्रस्तुत गर्नुभएको थियो ।

Logo