लिजामा ८०% ल्याउन महालक्ष्मीको कसरत

लिजामा ८०% ल्याउन महालक्ष्मीको कसरत

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा ८० प्रतिशत ल्याउने कसरत सुरु गरेको छ । स्वमूल्याङ्कनका विभिन्न सूचकहरुमा उत्कृष्ट अंक प्राप्त गर्ने अभिप्रायले नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ ।

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा नगरपालिकाको सभाहलमा लिजासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । स्थानीय तहको संस्थागत क्षमता मापन गर्नका लागि बिगत ४ बर्षदेखि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरि गोविन्द श्रेष्ठले लिसा सूचकमा रहेर कार्यसम्पादन गर्न निर्देशन दिंदै सूचक प्राप्तिमा कुनै वाधा उत्पन्न भए आफूहरुले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिकाले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्नका लागि समेत ती सूचकहरुको लक्ष्यमुखी कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले लिसामा नगरपालिकाले कम्तिमा पनि ८० अंक ल्याउनेगरी लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रशिक्षकको रुपमा आफ्नो पस्तुति राख्दै संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशम कँडेलले स्वमूल्याङ्कनका विभिन्न १०० वटा सूचकहरुको बारेमा आफ्नो प्रस्तुति राख्दै नगरपालिकाले यी सूचकहरुको प्राप्तिका लागि वर्षैभरी कार्यतालिका बनाई काम गर्नुपर्ने धारणा राखे ।

महालक्ष्मी-१० का वडा अध्यक्ष विजय लामाले आफूहरु सुशासन र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न लागिपरेको बताए ।

लिसा सम्पर्क अधिकृत गिरीराज खनालको सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्यहरु तथा सबै शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Logo