राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा, उत्सवको रुपमा मनाउन नगर प्रमुखको अपिल

राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा, उत्सवको रुपमा मनाउन नगर प्रमुखको अपिल

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकामा आइतबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ ।

महालक्ष्मी नगरपालिका, ललितपुरको आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा भएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । नगरपालिकाको वडा नम्बर ६ स्थित डनबस्को स्कूलमा उदघाटन समारोह हुनेछ ।

बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले उदघाटन गर्ने प्रतियोगिता तीन दिनसम्म चल्नेछ । शिक्षा शाखा प्रमुख पौडेलका अनुसार राष्ट्रपति रनिङ शिल्डमा यसपटकदेखि ओलम्पिक टर्च बालेर कार्यक्रम सुरु हुनेछ । उदघाटन कार्यक्रममा विद्यार्थीहरुको मार्च पास, झाँकी, नृत्य लगायतका कार्यक्रम रहनेछ ।

उदघाटन कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) मा छात्र र छात्रातर्फका खेलमा एक हजार जना खेलाडी विद्यार्थी सहभागी हुने पौडेलले जानकारी दिए । प्रतियोगितामा नगरभरीका ३७ विद्यालय प्रतिस्पर्धा गर्नेछन् ।

आइतबारदेखि सुरु हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उत्सवकारुपमा मनाउन नगर प्रमुख हरिगोविन्द श्रेष्ठले अपिल गरेका छन् । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० व्यवस्थापन तथा निर्देशन समितिको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्रतियोगितालाई नगरको खेल उत्सवकोरुपमा लिएर सहभागी हुन नगरबासीलाई अपिल गरेका छन् ।

नगर प्रमुख श्रेष्ठले विगतबाट पाठ सिक्दै २०८० सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता परिस्कृत र सफल हुने विश्वास व्यक्त गरे ।

उपप्रमुख लक्ष्मी महर्जनले खेल संस्कृतिको विकासका लागि नगरपालिकाले आगामी दिनमा खेलकुदलाई विशेष प्राथमिकता दिने जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर शिक्षा समितिका संयोजक बाबुराजा महर्जन, जिल्ला खेलकुद विकास समिति अध्यक्ष विनोद महर्जनलगायतले प्रतियोगितालाई आगामी वर्षमा अझै व्यवस्थित बनाउन समीक्षा गर्दै जानुपर्ने बताए ।

यसैबीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी दिन आइतबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । इमाडोलस्थित अशोक स्तुपाबाट सुरु हुने प्रभातफेरी महालक्ष्मी मन्दिर लुभुसम्म पुग्ने कार्यक्रम छ ।

Logo