मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री दाहाल

मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री दाहाल

काठमाडौं एक्सप्रेस

काडमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन्।

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल सरकार मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपदहरू, आर्थिक तथा सामाजिक अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्ने रणनीति तय गरी कार्यान्वयनमा एकजुट भएर काम गर्न पनि सन्देशमा भनेका छन्।

हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिवद्धताहरू पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशिल रहेको उनको भनाइ छ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ।

Logo