अन्तर्राष्ट्रिय विज्ञान परिषद्‌मा नेपालका वैज्ञानिक डा. मेघनाथ धिमाल

अन्तर्राष्ट्रिय विज्ञान परिषद्‌मा नेपालका वैज्ञानिक डा. मेघनाथ धिमाल

काठमाडौं एक्सप्रेस

अन्तर्राष्ट्रिय विज्ञान परिषद्को सय जना फेलोहरूमा नेपालबाट वातावरणीय स्वास्थ्य वैज्ञानिक डाक्टर मेघनाथ धिमाल मनोनीत भएका छन् । इन्टरनेशनल साइन्स काउन्सिल(आईएससी)ले मंगलबार संसारभरबाट सय जना वैज्ञानिकलाई छनोट गर्दा नेपालबाट डाक्टर धिमाल मनोनीत भएका हुन् । साइन्स काउन्सिलले विज्ञानलाई विश्वव्यापी सार्वजनिक हितको रुपमा प्रवर्द्धन गर्न उत्कृष्ट योगदान गरेको आधारमा डाक्टर धिमालसहितका वैज्ञानिकहरूलाई फेलोको रुपमा छनोट गरेको हो ।

आईएससी फेलो विज्ञान परिषद्को सर्वोच्च पद हो । छनोट भएका फेलोहरुमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरू रहेका छन् । जसमा सामाजिक र प्राकृतिक वैज्ञानिकहरू, इन्जिनियरहरूलगायत विज्ञानमार्फत समाजमा महत्वपूर्ण योगदान गरेका छन् ।

दिगो विकासको लक्ष्य हासिल गर्न विश्व धेरै खालको खतराबाट गुज्रिरहेको सन्दर्भमा यी वैज्ञानिकहरूले लक्ष्य प्राप्तिका लागि योगदान गर्ने आईएससीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रमुख अनुसन्धान अधिकृतका रूपमा कार्यरत वैज्ञानिक धिमाल नेपालका सबैभन्दा बढी साइटेसन भएका वैज्ञानिकहरूमा पर्छन् । उनी र उनी सामेल भएका वैज्ञानिक आलेखहरूले धेरै नै साइटेसन पाएका छन् ।

नेपालमा अध्यायपन गराउने विश्वविद्यालयका प्राध्यापकहरूकोभन्दा बढी गुगल स्कोलर साइटेसन अनुसन्धानकर्ता धिमालको छ । उनका साइटेसन ४० हजार नाघेको छ ।

वातावरण स्वास्थ्यमा काम गरिरहेका धिमालको प्राथमिक क्षेत्र जलवायु परिवर्तन र वातावरणीय स्वास्थ्यमा रहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सह-प्राज्ञ समेत रहेका धिमाल त्रिभुवन विश्वविद्यालयको वातावरणीय स्वास्थ्यको भिजिटिङ फ्याकल्टीमा कार्यरत छन् । उनले नेपालमा वातावरणीय र जलवायु परिवर्तन, नसर्ने रोग, उपेक्षित उष्णकिट रोग, स्वास्थ्य प्रणालीलगायतका धेरै अनुसन्धान परियोजनाहरूको नेतृत्व गरिसकेका छन् ।

जलवायु परिवर्तन र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गरेको भन्दा नास्टले उनलाई सन् २०१५ को उत्कृष्ट युवा वैज्ञानिक सम्मानबाट पुरस्कृत गरेको थियो । तीनसयभन्दा बढी प्राज्ञिक लेख तथा टेक्निकल रिपोर्टहरू तयार गरेका धिमालले सन् २०१५ मा जर्मनीको गोएथे विश्वविद्यालयबाट भू-विज्ञान (पर्यावरणीय स्वास्थ्य विज्ञान) मा पीएचडी पूरा गरेका थिए ।

Logo