सातै प्रदेशका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउँदै

सातै प्रदेशका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउँदै

काठमाडौं एक्सप्रेस

काठमाडौं,– सातै प्रदेशका मुख्यमन्त्रीहरू भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौँ आउँदै छन्। स्रोतकाअनुसार बिहीबार साँझबाट हेटौंडामा सुरु भएको सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकबाट आएको निष्कर्ष र निर्णयहरू लिएर उनीहरू प्रधानमन्त्री दाहाललाई भेट्न काठमाडौँ आउन लागेका हुन्।

मुख्यमन्त्रीहरू बिहीबारदेखि बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रादेशिक तथा स्थानीय अधिकार सुनिश्चित गर्ने विषयमा छलफलमा जुटेका छन्।

संवैधानिक अधिकार प्रत्यायोजनमा संघिय सरकारले कन्जुस्याइँ गरिरहेको आरोप लगाउँदै आएका मुख्यमन्त्रीहरूले एक आपसमा पटक–पटक छलफल गरिरहेका छन्।

समयमै संवैधानिक अधिकार प्रत्यायोजन नभएको र त्यसले प्रदेशको समग्र विकासमा वाधा पुगेको भन्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री दाहालमार्फत संघिय सरकारलाई दबाब दिँदै आएका हुन्।

प्रहरी समायोजनलगायतका आफ्ना धेरै मागहरू पुरा नभएको भन्दै यसअघि उनीहरूले प्रधानमन्त्री दाहाललाई काठमाडौँमै भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका छन्। आफ्ना मागहरू पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

यसको प्रतिउत्तरमा प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय सरकारले अधिकार दिन आफूले कुनै कन्जुस्याइँ नगर्ने पटक–पटक प्रतिवद्घता जनाउँदै आएका छन्। उनले प्रायः सार्वजनिक कार्यक्रममा प्रतिवद्घता जनाउँदै आएका हुन्।

Logo