बालकुमारीको घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार छैन : मन्त्री ज्वाला

बालकुमारीको घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार छैन : मन्त्री ज्वाला

काठमाडौं एक्सप्रेस

काठमाडौं, – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्।

शुक्रवार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए।

मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रिय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताए । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उनले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए । उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको पनि बताए । गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा समेत आगजनी गरियो । यो घटनाप्रति दुःख व्यक्त गर्दछु । मान्छेको ज्यान जाने कुरा र घाइते हुने कुरा पनि दुःखद् कुरा हो । आज बालकुमारीमा भएको घटनाका सम्बन्धमा हामीलाई न जानकारी छ, पूर्वजानकारी पनि छैन, न सम्बन्ध छ न सरोकार छ ।

हाम्रो मन्त्रालयसँग यसको कुनै सरोकार नै छैन । गाडी मन्त्रालयतिर गइरहेको बारेमा त्यहाँ गाडी रोकियो, गाडीको टायर खोसियो, गाडीमा आगो लगाइयो । बिना कारण, सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, जो जसको सरोकार जहाँ थियो, त्यो एउटा विषय होला ।

हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण छैन । गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुनेकुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा प¥यो र आगजनी गरियो । यो खेदजनक कुरा हो । अरु घटनाका सम्बन्धमा म धेरै जानकार छैन। हाम्रो मन्त्रालयको व्यक्तिगत रुपमा मेरो यो घटनामा कुनै सरोकार र सम्बन्ध केही छैन ।’

Logo