राष्ट्रियसभामा नाउपालाई एक सिट दिने समझदारी भइसक्यो : चौधरी

राष्ट्रियसभामा नाउपालाई एक सिट दिने समझदारी भइसक्यो : चौधरी

काठमाडौं एक्सप्रेस

धनगढी, – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका छन् । त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने उनले बताए ।

कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले सो कुरा बताएका हुन् । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।

बुधबार पनि बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला नाउपाका संरक्षक चौधरीले आफ्नो पार्टीलाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताएका हुन् ।

यही पुस २६, २७ र २८ गते टीकापुरमा हुने पार्टीको प्रथम महाधिवेशनबारे जानकारी दिन चौधरीले पत्रकार सम्मेलन गरेका थिए । उनले दिएको जानकारी अनुसार नाउपाको महाधिवेशनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने तयारी छ । त्यसैले महाधिवेशनमा प्रधानमन्त्री प्रचण्डसहित सबै पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको संरक्षक चौधरीले बताए । उनकाअनुसार महाधिवेशनको उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधिको समेत सहभागिता रहनेछ ।

महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने उनले जानकारी दिए । ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य महाधिवेनबाट चयन हुने उनले बताए ।

Logo