राजनीतिक दलप्रति तीव्र असन्तुष्टि जनाउदै पूर्वराजा

राजनीतिक दलप्रति तीव्र असन्तुष्टि जनाउदै पूर्वराजा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – पूर्वराज ज्ञानेन्द्र शाहले प्रमुख राजनीतिक दलप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेताहरूसँग भैरहवामा बोलाएर शाहले असन्तुष्टि जनाएका हुन्।

अध्यक्ष राजेन्द्र लिंदेनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहलाई भैरहवा बोलाएका शाहले देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको क्रिडास्थल बन्न लागेको बताएका हुन्। तत्कालीन सात राजनीतिक दलबिच भएको सहमतिलाई आधार बनाउँदै आफूले संसद् पुनर्स्थापना गरेको धारणा राखेका शाहले भनेका थिए,‘सात राजनीतिक दललाई अघि लगाएर हतियारसहितको माओवादी आन्दोलनलाई दमन गर्दा निहथा जनताको ठूलो मात्रामा ज्यान जान सक्थ्यो मैले त्यो चाहिन।’

जनताको नासो जनतालाई नै बुझाइदिँदा देशमा शान्ति सुव्यवस्था र अमन चयन कायम हुन्छ भन्ने सोचेर आफूले कदम उठाए पनि सोचे अनुसार नभएको शाहले गुनासो गरेका थिए । देशको राष्ट्रियता नै संकटमा परेको धारणा राख्दै शक्ति राष्ट्रहरूको चलखेल तीव्र भएको गुनासो गरेका थिए।

मुलुकमा आर्थिक मन्दी बढ्दै गएको र नागरिकता लिएपछि युवाहरू विदेशीनेक्रम नरोकिएको धारणा राख्दै दलहरूप्रति असन्तुष्ट शाहले नेपाल केटाकेटी र बुढाबुढीको देश हुन लागेको तर्क गरेका थिए । कस्तो राजा चाहिन्छ भनेर आफू र राजनीतिक दलले भन्ने होइन भन्दै शाहले जनताले नै त्यसको टुङ्गो लगाउने तर्क गरेका थिए। राजनीतिक दलले गर्ने कार्यक्रममा राजा सहभागी नहुने र राजा सबैको साझा भएको उनको तर्क थिए ।

दलहरूप्रति निकै आक्रामक पूर्वराज शाहले बिहीबार नागरिक अभिनन्दनलाई सम्बोधन गर्नेछन । त्यहाँ दलहरूप्रतिको असन्तुष्टि पोख्न सक्ने सङ्केत गरेको स्रोतको दाबी छ। शाह अहिले औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन्। उनले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्ला एक्लै पालैपालो भेटघाट गरेका छन्।

एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए। शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपिलवस्तुमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरे। नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जङ्गी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निर्माण गरेको हो। भैरहवास्थित पाँचतारे होटेल सिद्धार्थ भिलासामा शाह श्रीमती कोमल र नाति हृदयेन्द्रसहित त्यहाँ छन्।

Logo