विना निष्कर्ष टुङ्गियो गठबन्धनको बैठक

विना निष्कर्ष टुङ्गियो गठबन्धनको बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं,– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ । बैठकमा राष्ट्रिय सहमतिका नाममा एमालेले ६ सीट मागेको ब्रिफिङ गरेपछि कुनै पनि निर्णय नगरी टुङ्गिएको हो ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट सहयोग अपेक्षा गर्न नहुने विगतमा पनि सहयोग गर्ने नाममा समितिका सभापति खुस्काएको बताउँदै अहिले पनि संक्रमणकाली न्यायसम्बन्धी विधेयकमा एमालेले सहयोग गर्ने कुनै पनि आधार नदेखिएको भन्दै विरोध गरेका थिए । एसका अध्यक्ष माधव नेपालले विरोध गरेपछि बैठक टुङ्गिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाट ६ सिट मागेको र त्यसमा के गर्ने भन्ने बारेमा छलफल सुरु भएको थियो । गठबन्धन दलहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एमालेलाई साथमा ल्याउनका लागि ३ सिट दिने गरी सहमति गर्ने छलफल भएपनि नेपालले त्यसमा असहमति राखेको स्रोतको दाबी छ । माओवादीका नेताहरुले एमालेको ९ सिट गठबन्धनले दलहरूले सबै आफ्ना नाममा बाड्नु भन्दा एमालेलाई पनि समेट्न दबाब दिएका थिए । तर गठबन्धन दलहरूले यो विषयमा असहमत भएका छन् ।

प्रधानमन्त्रीले पनि संक्रमणकालीन न्याय सम्बन्धी कानुन निर्माणमा साथ खोज्दै एमालेलाई साथ दिने वचन दिएका थिए । प्रधानमन्त्रीको सो वचनपछि एमालेले गठबन्धन दलमध्ये जसले साथ दिन्छ उससँग सहकार्य गरेर जाने खुला नीति लिएको छ। आज बिहानको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले एमालेसँग समसामयिक विषयमा छलफल भइरहेको बताए । ‘एमालेसँगको समसामयिक विषयमा संवाद जारी रहन्छ’, नेता लेखकले भने। उनका अनुसार बैठक आज साँझ वा भोली बिहान बस्नेछ।

Logo