आणविक हातहतियार निषेध सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्न माग राख्दै प्रदर्शन

आणविक हातहतियार निषेध सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्न माग राख्दै प्रदर्शन

काठमाडौं एक्सप्रेस

आणविक हातहतियार निषेध सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षार गरेको ६ वर्ष बितिसक्दा पनि नेपालले उक्त महासन्धि संसदबाट अनुमोदन नगरेको भन्दै अभियान्ताहरूले विरोध प्रदर्शन गरेको छ । पारमाणविक अस्त्र निषेध सम्बन्धी महासन्धिको पक्षराष्ट्रको रुपमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन् २०१७ को सेप्टेम्बर २० मा हस्ताक्षार गरेका थिए ।

नेपालमा यो सन्धीको अनुमोदनको माग राख्दै अभियान चलाइरहेको फोरम फर नेशनल बिल्डिङ नेपालले काठमाडौंको तीनकुनेमा प्लेकार्डसहित उपस्थित भएर विरोध प्रदर्शन गरेको हो ।

उक्त महासन्धिमा आणविक हतियार निर्माण, प्रयोग, परीक्षण र भण्डारणलाई पूर्ण रुपमा निरुत्साहित गरेको अभियान्ता निर्मल उप्रेतीले बताए । उप्रेती इन्टरनेसनल क्याम्पियन टू एबोलिस न्युक्लियर विपन्स(आईक्यान)का नेपाल प्रतिनिधि संस्था फोरम फर नेशनल बिल्डिङ नेपालका अध्यक्ष समेत हुन् ।

आणविक हतियार निर्माण, प्रयोग, परीक्षणलाई निरुत्साहित गर्ने उद्देश्यले सन् २००७मा पहिलो पटक इन्टरनेसनल क्याम्पियन टू एबोलिस न्युक्लियर विपन्स(आईक्यान)ले आफ्नो अभियान नर्वेबाट सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघको महासभामा सन् २०१७ मा पारमाणविक अस्त्र निषेध सम्बन्धीको महासन्धि भएको थियो । यो महासन्धीको पक्षमा एक सय २२ भन्दा बढी राष्ट्र छन् ।

अध्यक्ष उप्रेतीले ट्रिटी अन प्रोहिभिएसन अफ न्यूक्लियर विपन(टीपीएनडब्लू)को नेपाल पक्ष राष्ट्र भएपनि संसद्‍बाट अनुमोदन नभएपछि बाध्य भएर प्रदर्शन गरिएको बताए ।

पारमाणविक अस्त्रको कुनै पनि प्रयोगबाट हुने विनाशकारी मानवीय परिणामप्रति संवेदनशील रहँदै तथा त्यस्ता अस्त्रहरुको पूर्ण उन्मूलनले मात्र भविष्यमा कुनै पनि परिस्थितिमा त्यस्ता अस्त्रहरु पुनः प्रयोग नहुने कुराको सुनिश्च गर्छ । नेपालको सन्धि ऐन, २०४७ अनुसार कुनै पनि सन्धि गर्दा संसदबाट पारित भएपछि मात्रै त्यसले कानुनी मान्यता पाउँछ ।

यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ ।

पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू भएको थियो ।

आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले भने यो सन्धीमा हस्ताक्षर समेत गरेका छैनन् ।

Logo