मेरै श्रीमतिलाई बलात्कृत गर्ने मलाईनै उल्टै मुद्धा हाल्ने ?

मेरै श्रीमतिलाई बलात्कृत गर्ने मलाईनै उल्टै मुद्धा हाल्ने ?

काठमाडौं एक्सप्रेस

काठमाण्डौँ, – आज म प्रहरी हिरासतमा बसेको पाँच दिन भयो । मेरो शारिरिक र मानसिक यातनाको त लेखाजोख गरि साध्य छैन् । मैले त्यस्तो के अपराध गरे ? जसले मलाई प्रहरी कष्टका चिसा रातहरु विताउनु परिरहेको छ ।

एकातिर बालबच्चाहरुको विचल्ली छ । अर्कोतिर दुई जीउकी श्रीमति खै न्याय माग्न कता कता धाईरहेकी होलीन ? न्याय माग्न आउने ठाउँमा त मै थुनियर बसेको छु ।

सत्य सेवा सुरक्षणम नारासहितको प्रहरी मेरो साथीको मुस्कानले त उल्टै मलाई असैय पारिरहेको छ । उ हासिरहेको छ । म रोईरहेको छु । मेरा बालबच्चा र दुई जीउकी श्रीमति मार्तडी बजारका गल्ली गल्ली पोल्ठो थाप्दै न्यायको भिख मागिरहेकी छिन । निर्दोश कान्छा भाइहरुपनि पुलिसको हत्कडीमा बेरिएर एकएक गरी प्रहरी कष्टडीका पुगिरहेका छन ।

त्यस्तो के नै भएको थियो र ? जस्ले मेरो सिंगै परिवारको छिल्ली विल्ली बनायो ।

हेर्नेस् : भएको यत्ति हो ।

सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा गर्भवती दलित महिला बलात्कार भएको घटनामा प्रहरीले उल्टै पीडित पक्षलाई थुनेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले उनीहरूलाई पुस १५ गते नियन्त्रणमा लिएको हो। बाजुराको हिमाली गाउँपालिका-३ कि ३० वर्षीया दलित महिला उनकै घरमा बलात्कृत भएको घटनालाई प्रहरीले पीडित महिला र उनका श्रीमान र देवरलाई पक्राउ गरेर झुटो मुद्दा लगाएको जनाएकाे छ।

पीडित ३० वर्षीया महिलाका अनुसार १० गते राति १ बजे उनीमाथि स्थानीय २५ वर्षीय जंगसिंह बुढाले बलात्कार गरेका थिए।

त्यस रात उनका श्रीमान गाउँमै जात्रा हेर्न गएका थिए। श्रीमान् राति अबेर आउने भएपछि ढोका ढ्यापेर मात्र सुतेकी उनी मध्यरातमा आफूलाई कसैले चलाइरहेको महशुस भएपछि बिउँझिएकी थिइन्।

बिउँझनेबित्तिकै ती पुरूषले एक्कासी आफ्नो मुख थुनिदिएको र करणी गरेको पीडित महिला बताउँछिन्।

गर्भ रहेको पेटमा थिचेर आफूमाथि करणी गर्न थालेपछि सकि नसकी ती पुरूषमाथि चिम्टा प्रहार गरेको उनले बताएकी छन्। उनका अनुसार चिम्टा र वरिपरि भेटिएका सामानले हिर्काउँदा उनको टाउको लगायतका भागमा चोटपटक पनि लागेको थियो।

चिम्टा प्रहारपछि ती पुरूषले हात निकालेपछि आफू चिच्याएको र नजिकका छिमेकीहरू आएपछि ती व्यक्ति भागेको पीडित महिला बताउँछिन्।

छिमेकीहरूले नै महिलामाथि भएको घटनाबारे उनका श्रीमानलाई सुनाइदिएका थिए। घटनापछि छलफल हुँदै गर्दा बिहान भएपछि त्यहाँ स्थानीयहरू पनि जम्मा भएका थिए।

त्यहाँ जम्मा भएकाहरूले मिल्न दबाव दिएपनि आफू कुनैपनि विषयमा सहमत नभएको पीडित महिलाले बताइन्।

जंगसिंह बुढाको घर पीडित महिलाको घरबाट केही दुरीमा मात्रै छ। पीडित महिलाकी श्रीमान् र उनका देवर आक्रोशित भएर बिहान पीडकको घर पुगेर उनीहरूलाई कुटपीट गरेका थिए।

हिमाली गाउँपालिका-३ का वडाध्यक्ष मंगल बुढाले त्यहाँ कुटपिट भन्दा पनि दुईतर्फी झडप भएको बताए। कुटपिटबाट जंगसिंह सामान्य घाइते भएका पनि थिए।

उज्यालो भएपछि पीडित महिला आफूमाथि भएको अन्यायबारे उजुरी गर्न प्रहरी चौकी बिच्छ्या पुगेकी थिइन्। बिच्छ्या प्रहरीमा आफूमाथि भएको घटनाबारे सुनाउदा उजुरी नलिइएपछि उनीहरू २ दिन लगाएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

जबरजस्तीकरणीको घटनामा आरोपीलाई पक्राउ गर्न प्रहरीलाई जाहेरीको आवश्यकता रहँदैन। मौखिक उजुरीका आधारमा पनि प्रहरीले आरोपीलाई पक्राउ गरी पीडितलाई संरक्षण दिन्छ।

तर, बाजुरामा भने पीडित महिला स्वयंले आफूमाथि बलात्कार भएको भन्दा पनि प्रहरीले आरोपीलाई पक्राउ त परको कुरा सोधपुछ सम्म नगरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी इन्स्पेक्टर किशोर सिंह ऐरीले घटनापछि बिच्छ्या प्रहरी चौकीमा पीडित पुगेको तर बलात्कार भएको वा नभएकोबारे स्पष्ट रूपमा नभनेपछि प्रहरीले आरोपीलाई पक्राउ गर्न आवश्यक नठानेको बताएका छन्।

घटना त्यहाँसम्म पुग्दा जिल्लामा दलित हकअधिकारको क्षेत्रमा काम गर्नेहरूले पनि घटनाबारे थाहा पाएका थिए।

सुरूमा जिल्ला प्रहरी कार्यालयबाट पनि आफ्नो जाहेरी लिन नमानेको र प्रहरीले उल्टै पैसाको हिसाबकिताब नमिलेर आएको भन्ने आरोप लगाएको पीडित महिला बताउँछिन्।

जिल्लाका अधिकार कर्मीहरूको दबावपछि मात्रै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो। इन्स्पेक्टर ऐरीले सोही दिन आरोपीलाई पक्राउ गरी ल्याएर हिरासतमा राखेर जाहेरीअनुसार अनुसन्धान गरिएको जानकारी दिए।

तर, दुई दिनपछि भने प्रहरीले पीडित पक्षलाई नै थुनेको पाइएको छ। पीडितका श्रीमान र उनका देवरसहित ४ जनालाई थुनेर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको हो।

यसबारे हामीले बाजुराका प्रहरी प्रमुख डिएसपी कविन्द्र बोहोरालाई सोध्यौं। उनले आफू तालिमका लागि बाहिर भएकाले घटनाबारे त्यति नबुझेको बताए। उनले आफू १५ गतेमात्रै जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको बताएका छन्। घटनाबारे इन्स्पेक्टरले ऐरीले नै अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको भन्दै आफूलाई भन्दा उनैलाई सोध्न भने।

जबकी बलात्कार जस्तो जघन्य अपराधमा प्रहरी प्रमुखको हैसियतमा बसेर तत्काल ब्रिफिङ लिएर मुद्दामा अझै संवेदनशील भएर छानबिन गर्नुपर्ने जिम्मा प्रहरीको हो।

एक स्थानीयका अनुसार बलात्कार आरोपी पुरूषलाई राजनीतिक संरक्षण समेत छ। उनी प्रमुख दलकै जिल्ला कमिटीमा रहेका एक पदाधिकारीका नातेदार समेत हुन्। त्यस हिसाबले बलात्कारको घटनामा प्रहरीले चाँडै उजुरी नलिने र संवेदनशील भएर नहेरेको बाजुरामा दलित महिलाको न्यायका लागि आवाज उठाउँदै आइरहेकाहरू बताउँछन्।

प्रहरीले उल्टै पीडित महिलाको परिवारका सदस्य र आफन्तलाई थुनेपछि घटनामा प्रहरीको भूमिका थप शंकास्पद देखिएको छ।

इन्सपेक्टर ऐरीका अनुसार बलात्कार आरोपमा पक्राउ परेका बुढाका बाबुले पीडित महिलाका श्रीमानसहितका व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।

यद्यपि, पीडित महिलाका अनुसार आफूमाथि करणी गर्न आएपछि चिम्टा र जेजे भेटिन्छ त्यही सामानले हिर्काएपछि जंगसिंह धामी घाइते भनेकी छन्। त्यहाँका वडाध्यक्षले पनि त्यसदिन कुटपिट नभई झडप भयो भनेका थिए।

बलात्कारको घटनालाई विषयान्तर गर्नका लागि ज्यान मार्ने उद्योगको जाहेरी दिएको हुनसक्ने विषयलाई अनुसन्धान नै नगरी प्रहरीले पीडित पक्षलाई थुनेर उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको पाइएको छ।

इन्सपेक्टर ऐरीले बलात्कार आरोपी भनिएको व्यक्तिको घरमा पीडितको श्रीमानलगायतका ४ जना हँसिया र लाठी लिएर गएको र कुटपिट गरेको देखिएको बताए।

उनले १५ गते उजुरी आउनासाथ प्रहरीले घटनास्थल हेरेको र हँसिया र मुसल बरामद गरेको बताए। ‘त्यसरी हेर्दा ज्यान मार्ने तरिकाले उनीहरू गएको देखिएपछि जाहेरी अनुसार हामीले कारबाही प्रक्रिया अगाडि बढाएका हौं,’ उनले भने।

जबरजस्ती करणीको घटनामा पीडितले मौखिक उजुरी गर्दा प्रहरीले घटनास्थलको जाँच नगर्नु र बलात्कार हो होइन भनेर पुष्टि नभएकाले तत्काल आरोपीलाई पक्राउ नगर्ने प्रहरीले पहुँच नभएकै आधारमा महिलाको श्रीमान् र आफन्तले भने सबै कसुर गरेको देखेको छ।

दलित हकअधिकारका लागि काम गर्ने जिल्लाका विभिन्न संस्थाका व्यक्तिहरूले महिला बलात्कार भएको घटनालाई मिनिमाइज गरेर ज्यान मार्ने कसुरलाई बढी हाइलाइट गर्न खोजेको आरोप लगाएका छन्।

इन्स्पेक्टर ऐरीले जबरजस्तीकरणी घटनाको आरोपीलाई पाँच दिन र ज्यान मार्ने उद्योगका आरोपीलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

प्रारम्भिक सोधपुछमा कसैले पनि आफूमाथि लागेको आरोप स्वीकार नगरेको र स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर ऐरीले जानकारी दिए।

साथै यस घटनाकाे सामाजिक सञ्जालमा बृहत् बिरोध भएपिछ प्रहरीले आफ्नो बचाउको लागि धम्कीपूर्ण शैलीमा प्रेसविज्ञप्ती जारी गरेको छ ।

Logo