सभामुखसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षसँग सभामुखको भेट

सभामुखसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षसँग सभामुखको भेट

काठमाडौं एक्सप्रेस

काठमाडौं– सम्माननीय सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेट भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनु भएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुखले व्यक्त गरेका धारणा

सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण सम्बन्ध रहिआएकोमा म खुशी व्यक्त गर्दछु ।

संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु हुन् ।

आयरल्यान्डको संसदमा आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन भएकोमा हामीलाई खुशी लागेको छ। हालै नेपालमा पनि नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूह गठन भएको छ। संसदीय मैत्री समूहको गठन भएबाट आगामी दिनहरूमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ ।

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन हाम्रो संसद र सांसदहरुको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने मेरो बुझाई छ। संसदीय प्रतिनिधिमण्डलको आदान–प्रदानबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने र यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने कुरामा म विश्वस्त छु।

गत वर्षको मेरो आयरल्याण्ड भ्रमणका दौरान दुई देशबीच संसदीय आदानप्रदान घनीभूत बनाउने एवम् संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको थियो। त्यति मात्र नभई आयरल्याण्डका महामहिम राष्ट्रपति तथा महामहिम मन्त्रीज्यूहरू लगायतका विशिष्ट व्यक्तित्वहरूसँगको भेटघाटमा नेपाल–आयरल्याण्ड सम्बन्धका विभिन्न पक्षहरुमा छलफल भएको थियो। ती छलफलका निश्कर्षहरूलाई मूर्त रूप दिनेतर्फ हाम्रा प्रयासहरू अघि बढ्नुपर्ने मेरो धारणा रहेको छ ।

सन् २०१५ मा नयाँ संविधान जारी भएपश्चात नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, धर्म निरपेक्षता, जनताका मौलिक अधिकार, मानव अधिकार, कानूनको शासन, सामाजिक न्याय लगायतका लोकतन्त्रका मूल्य र मान्यताहरूलाई आत्मसात गरेको छ ।

सन् २०२२ मा नेपालमा तीनै तह (संघ, प्रदेश तथा स्थानीय) मा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भए पश्चात जननिर्वाचित सरकारको स्थापना भएबाट ऐतिहासिक राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्न मद्दत पुगेको छ ।
युरोपेली संघको एक महत्वपूर्ण सदस्यको हैसियतमा नेपालको विकास प्रयासलाई युरोपेली संघ मार्फत थप सहयोग उपलब्ध गराउने दिशामा सकारात्मक वातावरण सिर्जना गर्ने सम्बन्धमा हामी आयरल्याण्डको सहयोगको अपेक्षा गर्दछौं ।

भेटमा आयरल्याण्डका अध्यक्षले व्यक्त गरेका धारणा

सभामुखको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान प्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसदको शिक्षा समितिले काम गरिरहेको छ ।

नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको छु ।

दुवै मुलुकमा संसदीय मैत्री समूह निर्माण भएका छन् । तिनले संसदीय आदान प्रदानका लागि सहयोग गर्ने अपेक्षा लिएको छु ।

नेपालले मानवअधिकार र लैंगिक तथा यौनिक अल्पसंख्यकका क्षेत्रमा गरेका प्रगति विश्वकै लागि उदाहरणीय छन् । नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरु उदाहरणीय छन् ।

Logo