कुनै पनि स्तरको क्रिकेट नखेल्ने भन्दै क्यानलाई सन्दीपको पत्राचार

कुनै पनि स्तरको क्रिकेट नखेल्ने भन्दै क्यानलाई सन्दीपको पत्राचार

काठमाडौं एक्सप्रेस

काठमाडौं, – क्रिकेटर सन्दीप लामिछानेले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा सहित नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गरेका छन् । उनी काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएकाले कुनै पनि स्तरको क्रिकेट नखेल्ने भनि पत्रचार गरेका हुन् ।

क्यानले सन्दीपको विषयमा निर्णय लिन उनको सजाय निर्धारणको प्रतीक्षा गरेको थियो । तर, क्यानले निर्णय लिनुअघि सन्दीप आफैंले निर्णय सुनाएका हुन् । उच्च अदालतमा पुनरावेदन गरेर सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले जनाएको छ ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ति करणीमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि, उनी तत्काल जेल जानुपर्ने अवस्था छैन । उनले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । जिल्ला अदालतले मुद्दाको पूर्णपाठ निकालेर सन्दीपले बुझेको १०० दिनभित्र पुनरावेदन गरिसक्नुपर्छ । सन्दीपले जेलबाहिरै रहेर उक्त पुनरावेदनको मुद्दा लड्न सक्ने सुविधा कानूनतः प्राप्त छ ।

यो प्रक्रियामा केही महिना समय लाग्ने भएको हुँदा त्यतिञ्जेल सन्दीपलाई खेलाउने कि नखेलाउने भन्ने प्रश्न क्यानसामू थियो । अदालतबाट कुनै मुद्दामा दोषि प्रमाणित भएको व्यक्तिलाई तत्काल खेल्नबाट रोक्ने नेपालमा कुनै कानूनी व्यवस्था छैन । यद्यपि, नैतिक विषय भएकाले सन्दीप आफैं अलग भएका हुन् ।

यसअघि सन्दीपविरुद्ध अभियोग लागेपछि उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो । धरौटीमा छुटेपछि उनी राष्ट्रिय टोलीमा उपलब्ध भएका थिए । उनलाई तत्काल नेपाली टोलीमा फर्काइएको थियो । त्यसयता उनले निरन्तर नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । नेपालको एक दिवसीय स्टाटस जोगाउन र एसिया कपमा पुर्याउन सन्दीपको प्रमुख भूमिका रहेको थियो ।

काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको भोलीपल्टै सन्दीपले वीरगञ्जमा भइरहेको एक घरेलु प्रतियोगिताको फाइनलमा आफुलाई टिमबाट ‘अलग’ गरे । त्यसपछि उनी घरमै दिन बिताइरहेका छन् ।

Logo