पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपालको पहिचान स्थापित भएको दिन : सभामुख

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपालको पहिचान स्थापित भएको दिन : सभामुख

काठमाडौं एक्सप्रेस

काठमाडौं- सभामुख देवराज घिमिरेले पृथ्वी जयन्ती तथा तथा राष्ट्रिय एकता दिवस नेपालको पहिचान स्थापित भएको दिनकोरुपमा स्मरण गरेका छन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त समेत गरेका छन् ।

‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’ उनले भनेका छन्, ‘आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनकारुपमा समेत स्मरण गर्न चाहन्छु ।’

तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेको सभामुख घिमिरेले स्मरण गरेका छन् । ‘अभियानको उपलब्धीस्वरुप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन पुगेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भएपछि पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर गएको छ । आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने समेत विश्वास व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।

पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति, आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीन सय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक रहेको सभामुखको भनाइ छ ।

Logo