ज्येष्ठ नागरिकलाई महालक्ष्मी ५ ले गर्‍यो सम्मान

ज्येष्ठ नागरिकलाई महालक्ष्मी ५ ले गर्‍यो सम्मान

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको छ । नगरप्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट ओडाएर सम्मान गरेका थिए ।

नगरपालिकाले छुट्याएको बजेटको १५ प्रतिशत सामाजिक सुरक्षा सेवामा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । सोही कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेर सम्मान गरेको ५ का वडा अध्यक्ष कपिल केसीले काठमाडौं एक्सप्रेसलाई जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरिगोविन्द श्रेष्ठले सामाजिक सुरक्षाका सवालमा महालक्ष्मी नगरपालिकाले धेरै कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए । उनले सामाजिक सुरक्षा, बाआमा स्वास्थ्य कार्कय्रम लगायत नगरपालिकाका सफल कार्यक्रम रहेको उल्लेख गरे ।

नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्न लागिएको जानकारी समेत दिएका छन् ।

उपप्रमुख लक्ष्मी महर्जनले जेष्ठ नागरिकका लागि १० वटै वडामा दिवा सेवा केन्द्रको निर्माण गर्ने जानकारी दिइन् । उनले नगरस्तरीय जेष्ठ नागरिक समिति गठन गरेर सबै वडामा दिवा सेवा केन्द्र खोल्ने बताइन् ।

वडा अध्यक्ष केसीले वडा भित्रका करिब ३२५ जना ज्येष्ठ नागरिक मध्ये २२५ जनालाई सम्मान गरेको जानकारी दिए । जेष्ठ नागरिकलाई वडाको तर्फबाट ब्लाङ्केट र पाँच सय रुपैयाँ दिएर सम्मान गरिएको छ । कार्यक्रममा करिव ६ लाख रुपैयाँ खर्च भएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुसी लागेको वडाध्यक्ष केसीको भनाइ छ ।

Logo