काठमाडौं, – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरुले छिटोभन्दा छिटो आवश्यक कानूनहरुको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन्।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई माघी पर्वको अवसर पारेर सोमबार राष्ट्रपति भवन शीतल निवासमा बोलाएर उनले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरुले गर्नुपर्ने उल्लेख गरे।
राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरुले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माणमा गर्ने काममा ढिलाइ गर्न नहुने जिकिर गरे।
त्यस अवसरमा राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रुपमा चित्रण गर्दै सबैमा शुभकामना समेत व्यक्त गरेका थिए।
प्रतिक्रिया