कपिलवस्तुमा नेपाल–भारतको सामाजिक र साँस्कृतिक सम्बन्ध विषयक सम्मेलन सम्पन्न

कपिलवस्तुमा नेपाल–भारतको सामाजिक र साँस्कृतिक सम्बन्ध विषयक सम्मेलन सम्पन्न

काठमाडौं एक्सप्रेस

काठमाडौं– कपिलवस्तुको शिवराजमा नेपाल भारत मिल्लत परिषदको आयोजनामा नेपाल–भारतको सामाजिक र साँस्कृतिक सम्बन्ध विषयक सम्मेलन भएको छ । सम्मेलनमा सहभागी राजनीतिज्ञ तथा विशिष्ट अथितिहरुले दुई देशबीको सम्बन्धबारे धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुई मुलुकबीचको सम्बन्ध जनजनमा नै प्रगाढ रहेको बताए । ‘दुई मुलुक अस्तित्वमा आउनुअघि नै दुवै देशका जनताबीच सामाजिक साँस्कृतिक सम्बन्ध थियो,’ उनको भनाइ छ ।

पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले खुला सीमा, साझा आस्था र सनातन धर्मले नेपाल र भारतबीचको सम्बन्ध जीवन्त राखेको बताए । ‘दुवै मुलुकका जनताबीच विवादमात्र नभएर साँस्कृतिक पर्वहरु पनि सँगै मिलेर मनाउने चलन छ,’ उनले भने, ‘सम्बन्ध मजबुत हुनुको पछाडि सामाजिक साँस्कृतिक समानता मुख्य हो ।’

कार्यक्रमको अध्यक्षतासमेत गरेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भौगोलिक निकटसँगै धार्मिक, सामाजिक र साँस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम रहेको बताए । उनले भने, ‘समान मूल्य, मान्यता एवं रोटीबेटीका सम्बन्धका कारण नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट छ ।’

लेखक डा. सुरेन्द्र झा, डा. कौसर उसमानलगायतले पनि दुई देशबीचको सदियौंदेखिको सम्बन्धबारे चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरू बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सराज अहमद फारुकी, भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार, नेपाल तथा भारतका प्रदेश सभाका सांसदहरू लगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।

Logo