रक्षामन्त्री खड्काले गरे नेपाली सेनाको गण निरीक्षण

रक्षामन्त्री खड्काले गरे नेपाली सेनाको गण निरीक्षण

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज नेपाली सेनाको श्री नयाँ सबुज गण भरतपुरको निरीक्षण गर्नुहुँदै गणले सुरक्षा, उद्धार र विपद् व्यवस्थापनलगायतका काममा खेलेको भूमिको प्रसंशा गरेका छन् ।

रक्षामन्त्री खड्काले मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताए ।

“यस गणका गतिपतिबाट आज प्रस्तुत भएअनुसार भरतपुर विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा उपलब्ध गराउनुपर्ने देखिन्छ”, उनले भने, । उनले नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नुपर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य जरुरी छ भन्छन् ।

यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो । यसअघि विमानस्थलको धावनमार्ग विस्तारका लागि नेपाली सेनासँग जग्गा माग गरिएको थियो । त्यहाँ रहेको घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने योजना छ ।
भरतपुर महानगरपालिकाको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कासहित नेपाली सेना यस विषयमा सकारात्मक देखिएसँगै विमानस्थल विस्तारको कार्यले सकारात्मक रूपमा अघि बढ्ने देखिएको हो ।

Logo