काठमाडौं, – एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ छ ।
गत वर्षको यस अवधिमा यस्तो नाफा तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ थियो । बैंकको मुख्य बिजनेस खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफा घटेको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।
त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो ।
बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ, गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो । त्यस्तै बैंकको सीडी रेसियो गत वर्षको पुस मसान्तसम्म ८३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ७७ प्रतिशतमा झरेको छ । यहीं अवधिमा बैंकको आधार दर ११ प्रतिशतबाट ९.६८ प्रतिशतमा झरेको छ ।
बैंकको औसत ब्याजदर अन्तर (स्प्रेडदर) ३.९९ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।
बैंकले यसअघि मर्जर तथा प्राप्तिमा पाएको बार्गेन पर्चेज गेनवापत सरकारलाई ४४ करोड ४५ लाख रुपैयाँ बुझाउँदा पनि वितरणयोग्य नाफामा असर परेको छ ।
प्रतिक्रिया