संसद सञ्चालनको क्यालेण्डर बनाउन सुझाव संकलन

संसद सञ्चालनको क्यालेण्डर बनाउन सुझाव संकलन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – संसदीय समितिका सभापतिहरुले संसद सञ्चालनको क्यालेण्डर बनाउन सभामुखलाई सुझाव दिएका छन् ।सभामुख देवराज घिमिरेले आज बोलाएको बैठकमा सहभागी संसदीय समितिका सभापतिहरुले सो सुझाव दिएका हुन् ।

सभामुखसँगको छलफलपछि पत्रकारहरुसँगको कुराकानीमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई क्यालेण्डर बनाएर सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिएको बताए ।

‘सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरको रुपमा यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेण्डर बनाएर जान सकियो भने त्यो पनि उपयुक्त हुन्छ,’ छलफलको विषयबारे जानकारी दिँदै खतिवडाले भने ।

समितिका सभापतिहरुले एउटै विषय फरक–फरक समितिमा छलफल हुने गरेको र मन्त्रीहरुलाई पनि समय निकाल्न कठिन भएको बताएका थिए । उदाहरणको रुपमा उनीहरुले एनसेल प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिमा छलफल भइरहेको बताएका थिए ।

‘यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो,’ सभापति खतिवडाले भने, ‘एकैदिन तीन–चार वटा समितिमा बोलाउँदा मन्त्रीहरुले नभ्याउने, कतै गयल हुने भन्ने लगायतमा पनि छलफल भयो ।’

बैठकमा सभामुख घिमिरेले संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा राखेका थिए । संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेको छ ।

Logo