मौन अवधि उल्लंघन गरेकोमा आयोग असन्तुष्टि

मौन अवधि उल्लंघन गरेकोमा आयोग असन्तुष्टि

काठमाडौं एक्सप्रेस

काठमाडौं, – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान तथा भेला कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गर्ने क्रममा उनले मौन अवधिमा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान तथा भेला कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

माघ १० गते सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले आयोगले लागु गरेको मौन अवधिको उल्लंघन गरेर चियापान र भेलाको आयोजना गरेका थिए। नेपाली कांग्रेसले विराटनगरस्थित शेखर कोइरालाको निवासमा कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी कृष्णप्रसाद सिटौलासहितका उम्मेदवारको उपस्थितिमा आयोगले लागु गरेको आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसार गरेका थिए।

त्यस्तै, कोशी प्रदेशमा नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य र राप्रपाले संयुक्त रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य मोती दुगडको विराटनगरस्थित होटल ह्यारिसनमा भेलाको आयोजना गरेको थियो।

सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचन हुनेअघि निर्वाचन लक्षित चियापान र भेलाको आयोजना गरेपछि आयोगले मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले माघ ९ गतेदेखि मौन अवधि तोकेपनि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनका दलहरूले पालना नगरेको गुनासो प्रमुख निर्वाचन आयुक्त थपलियाले गरेका थिए।

त्यस्तै, कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा समेत गरे। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन्। राष्ट्रियसभा सदस्य निर्वाचनको क्रममा कोशी प्रदेशमा मत बदर हुनु दुर्भाग्य भएको उनले बताए।

Logo