प्रधानमन्त्री कप : उपाधिका लागि आर्मीविरुद्ध प्रहरीले बलिङ गर्दै

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मीविरुद्ध प्रहरीले बलिङ गर्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुलिसले आर्मीविरुद्ध पहिले बलिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पुलिसले पहिले बलिङ रोजेको हो ।

पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो । पुलिसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । लिग चरणमा आर्मी पुलिससँग भैरहवामा १३ रनले पराजित भएको थियो ।

पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गरेका छन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा दुई शतक हानेका छन् । टीयु मैदान विनोद भण्डारीको लागि लक्की पनि मानिन्छ ।

विनोद, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलम जस्ता खेलाडी आर्मीमा छन् । यता पुलिसमा दीपेन्द्र, कुशल भुर्तेल, आरिफ शेख, अर्जुन साउद, सागर ढकाल, करण केसी र ललितनारायण राजवंशी लगायतका खेलाडी छन् ।

२०१७ को प्रधानमन्त्री कप फाइनल वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए । २०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली हो ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।

Logo