भव्य उपस्थितिमा महालक्ष्मी महोत्सव सुरु

भव्य उपस्थितिमा महालक्ष्मी महोत्सव सुरु

काठमाडौं एक्सप्रेस

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु भएको तीन दिने महालक्ष्मी महोत्सव भव्य उपस्थितिमा सुरु भएको छ ।

लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा हजारौंको उपस्थितिमा महोत्सव सुरु भएको हो । फागुन ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रथम महालक्ष्मी महोत्सवको नारा ‘महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा, संस्कृति,पर्यटन ,उद्योग र व्यापार’ भन्ने रहेको छ ।

महोत्सवको उदघाटन गर्दै प्रतिनिधि सभाका सांसद प्रेम महर्जनले प्राकृतिक र साँस्कृतिकरुपमा महालक्ष्मी नगरपालिका महत्वपूर्ण रहेको बताए । उनले लाँकुरी भञ्ज्याङमा मनमोहन अधिकारी र गणेशमान सिंहको स्मृतिमा राखिएका पार्कले पर्यटकको प्रचुर सम्भावना रहेको उल्लेख गरे । “इको टुरिजमले महालक्ष्मीको समृद्धिका सहयोग गर्दछ भन्ने लाग्दछ,” उनले भने ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरमा आन्तरिक पर्यटनको प्रवर्धन गर्न, नगर भित्रका संस्कृति सम्पदा पर्यटन क्षेत्रको उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।

उपप्रमुख लक्ष्मी महर्जनले महोत्सवका क्रममा सांस्कृतिक ऐतिहासिक सम्पदाहरुको प्रदर्शन र अवलोकन, स्थानीय घरेलु उद्योगको उत्पादन, कृषि उत्पादन लगाएतको प्रदर्शनी रहने जानकारी दिइन् ।

कार्यक्रममा सांसद जितजंग बस्नेत, पूर्वप्रदेश सांसद माधव पौडेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सञ्चालकले प्रमुख अतिथि महर्जनको परिचय गराउँदा लालकिल्ला यथावत् राख्न सफल भन्ने शब्द प्रयोग गरेकोमा विवाद भएको थियो । कार्यक्रम सञ्चालक परिवर्तन गरेपछि यथावत् रुपमा कार्यक्रम अघि बढेको थियो ।

Logo