जातीय तनाव र आतङ्कवादको खतरा शान्ति सैनिकले सामाना गर्नुपरेको छ : प्रधानमन्त्री

जातीय तनाव र आतङ्कवादको खतरा शान्ति सैनिकले सामाना गर्नुपरेको छ : प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्। ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा सबै सचेत हुनुपर्ने बताए।

शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए।

‘संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ,’ प्रधानमन्त्रीले भने।

शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताए।

खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको उल्लेख गरे।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ।’

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे।

उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गरे। नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप दश हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको उनले बताए।

Logo