काठमाडौं, – नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ ।
एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा समय लिएर सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ ।
माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।
तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै समय लिएर बोल्ने एमालेको तयारी छ । एमालेको तर्फबाट सांसद रघुजी पन्तले सरकारको ध्यानाकर्षण गर्नेछन् ।
प्रतिक्रिया