जिल्लास्तरीय दादुरा रुबेला खोप अभियान महालक्ष्मीबाट शुभारम्भ

जिल्लास्तरीय दादुरा रुबेला खोप अभियान महालक्ष्मीबाट शुभारम्भ

काठमाडौं एक्सप्रेस

ललितपुर– जिल्लास्तरीय दादुरा रुबेला खोप अभियान महालक्ष्मी नगरपालिकाबाट शुभारम्भ भएको छ ।

वडा नम्बर ६ स्थित सिद्धिमंगल माध्यमिक विद्यालयमा एक भव्य कार्यक्रमबीच अभियान शुभारम्भ गरिएको हो । नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल प्रमुख अतिथि र ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सञ्जु यादव, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली, वडा अध्यक्ष धर्म महर्जन, विद्यालयका प्रधानाध्यापक मिनबहादुर अछामी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन खोप अधिकृत पार्थमणि न्यौपानेले गर्नुभएको थियो ।

दादुरा रुबेला खोप अभियान ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि आगामी फागुन २३ गतेसम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जानकारी दिए । उनले नियमित खोप लगाउन छुट भएका ५ वर्ष मुनिका बालबालिकाहरूलाई समेत छुट खोप दिने व्यवस्था भएकाले नजिकको खोप केन्द्रमा लैजान अपिल गरेका छन् ।

Logo